७ पुस, काठमाडौँ – ओखलढुङ्गाका चित्रकार रुपक राईको चित्रकला प्रदर्शनी शुरु भएको छ ।
ललितपुरको पाटनस्थित क्लासिक ग्यालरीमा उनको एक महिने चित्रकला प्रदर्शनी शुरु भएको हो । विभिन्न स्कुलमा बालबालिकाका कला प्रशिक्षक उनले जीवन कै पहिलो कला प्रदर्शनीले उर्जा मिलेको बताए ।
शुक्रबारदेखि शुरु भएको प्रदर्शनीमा समसामयिकदेखि स्थानीयको रहनसहन, धार्मिक मठमन्दिर, गुम्बा, मुहारचित्रदेखि विभिन्न कलात्मक विषय वस्तुका चित्र समावेश गरिएको छ ।
दोलखा घुम्ने क्रममा पञ्चे बाजा बजाउने नेपाली मौलिक संस्कृति झल्कने दुई स्थानीयको तस्बीरलाई उनले सुन्दर ढङ्गले क्यान्भासमा उतारेका छन् । यो चित्र ‘क्लासिक ग्यालरी’ कै आकर्षक चित्र बन्न पुगेको छ । अर्काे एक्रेलिक रङमा चित्र कैंची अस्पताल पनि मन छुने खालको चित्र छ ।
पानी रङमा खेलेर बौद्ध स्तुपालाई दुरुस्त पार्नुभएका उनको यहाँ २२ चित्र प्रदर्शनमा छन् । इचिङ कलाको उत्कृष्ट नमूना स्वरुप नेपालका धार्मिक क्षेत्र र मठमन्दिरका चित्रले दर्शकलाई लोभ्याउने खालको छ ।
ग्यालरीका सञ्चालक सरिता डङ्गोलले नवकलाकारलाई प्रोत्साहन र सम्मान दिने अभियान अन्तर्गत यो पटक रुपकको चित्रलाई स्थान दिएको जानकारी दिए । उनले एक वर्षको चित्रकलाको मुल्याङ्कन गरी उत्कृष्ट एक जना चित्रकारलाई कला प्रदर्शनीका लागि ग्यालरीमा निशुल्क प्रदर्शन गर्ने अवसर प्रदान गर्ने गरेको बताए ।
प्रदर्शनीको आज शनिबार दोस्रो दिनसम्म ४ वटा चित्र बिक्री भएकाले चित्रकार राईले काममा थप हौसला मिलेको प्रतिक्रिया दिए ।