Logo

यस वर्षका नोबेल विजेताहरू



Spread the love

देवेन्द्र अर्याल ‘आँसु’

नर्बेली वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापित विश्वप्रसिद्ध गौरवशाली नोबेल पुरस्कार प्राप्त गर्नेहरूको छनौट भइसकेको छ । प्रत्येक वर्ष डिसेम्बर १० मा विश्व प्रसिद्ध नोबेल पुरस्कार वितरण गरिन्छ । नोबेल पुरस्कार छनौट समितिले विभिन्न मुलुकका १३ जनालाई यो वर्ष नोबेल पुरस्कार दिने निर्णय गरिसकेको छ । प्रत्येक वर्ष रसायनशास्त्र, भौतिकशास्त्र, चिकित्साशास्त्र, अर्थशास्त्र, शान्ति र साहित्य विधा गरी छ विधामा पुरस्कार प्रदान गरिने भए पनि यस वर्ष साहित्य विधामा भने पुरस्कार प्रदान नगरिने घोषणा नोबेल एकेडेमीले गरेको छ ।

अर्थशास्त्र

यस वर्षको अर्थशास्त्रमा नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्री विलियम नोर्धाउस र पल रोमरेलाई दिने नोबेल कमिटीले जनाएको छ । दिगो वृद्धिसम्बन्धी उनीहरूको कामका लागि यो पुरस्कार दिइएको हो । दुबै अर्थशास्त्रीको अध्ययन जलवायु परिवर्तन र प्रविधिबाट कसरी अर्थतन्त्र प्रभावित भइरहेको छ भन्नेमा केन्द्रित थियो । द रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले उनीहरूले कसरी दिगो वृद्धि हासिल गर्ने भन्ने हाम्रो समयका ज्यादै ज्वलन्तमध्येका केही प्रश्नलाई सम्बोधन गरेको जनाएको छ । यी दुई अर्थशास्त्रीले आठ लाख ४१ हजार पौण्ड बराबरको पुरस्कार बाँड्नेछन् । याले विश्वविद्यालयका प्राध्यापक नोर्धाउस अर्थतन्त्र र मौसमबीचको अन्तरसम्बन्धको व्याख्या गर्ने मोडल तयार गर्ने पहिलो व्यक्ति भएको नोबेल एकेडेमीले जनाएको छ । न्युयोर्क विश्वविद्यालयको स्टेर्न स्कुल अफ बिजनेसका प्राध्यापक रोमेरले आर्थिक बलहरूले कसरी फर्महरूको नयाँ विचार र नवीनताले उत्पादन गर्ने चाहनालाई नियमन गर्छ भन्ने कुरा देखाएका छन् ।
प्राविधिक भाषामा स्मेरिगेस रिक्सब्यांक प्राइज भनेर चिनिने अर्थशास्त्रको नोबेल पुरस्कार स्विडेनको केन्द्रीय बैंकले अल्फ्रेड नोबेलको सम्झनामा सन् १९६९ स्थापना गरेको हो ।

रसायनशास्त्र

रसायन शास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिएको छ । पी विन्टर र अमेरिकाकै जर्ज पी स्मिथलाई यो वर्षको नोबेल पुरस्कार दिने निर्णय गरिएको हो । पुरस्कारको ९० लाख स्विडिस क्रोनरमध्ये आर्नोल्डले आधा र बाँकी आधा रकम स्मिथ र विन्टरले पाउनेछन् । तीनै वैज्ञानिकहरूले डिरेक्टिड इभोलुसन नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिन बनाएका थिए । त्यसरी बनाइएको प्रोटिन नयाँ औषधिको विकास र हरित इन्धन लगायतका विविध क्षेत्रमा उपयोग हुन्छ ।
अमेरिकी महिला वैज्ञानिक आर्नोल्डले पहिलोपटक नेचुरल सेलेक्सन अर्थात् प्राकृतिक चयनको प्रक्रियाको अनुकरण गर्ने विधि उपयोग गरेर विशेष काम गर्न सक्ने एन्जाइमहरू विकसित गरेकी थिइन् । एन्जाइमहरू जैविक उत्प्रेरक हुन,् जसले जैविक कोषमा रासायनिक प्रतिक्रियालाई तीव्र पार्दछ । रोयल स्विडिस एकेडेमी अफ साइन्सका अनुसार तीनैजना वैज्ञानिकले टेस्टट्युबमा डार्बिनको सिद्धान्तलाई उपयोग गरी विकासको शक्तिलाई जोड्न सफल भएका कारण यस वर्षको नोबेल पुरस्कार उनीहरूलाई प्रदान गरिएको नोबेल एकेडेमीले जनाएको छ ।

भौतिकशास्त्र

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार एक महिलासहित तीन वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । क्यानडाकी डोना स्ट्रिकल्यान्ड, अमेरिकाका अर्थर अस्किन र फ्रान्सका जेरार्ड मुराउ यस वर्षका भाग्यमानी नोबेल पुरस्कार विजेताहरू हुन् ।
लेजर फिजिक्सको क्षेत्रमा उनीहरूले गरेको आविष्कारका लागि यस वर्षको पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ । डा. अस्किनले अप्टिकल ट्विजर नामक लेजर प्रविधिको विकास गरेका थिए । सो प्रविधि जैविक प्रणाली अध्ययनका लागि प्रयोग गरिन्छ । मुराउ र स्ट्रिकल्याण्डले उच्च तीव्रता उत्पन्न गर्ने तरिका र निकै सानो लेजर पल्स पत्ता लगाएका थिए । जसको प्रयोग विभिन्न क्षेत्रमा हुने गर्दछ । जुन लेजर आँखाको शल्यक्रियामा प्रयोग गरिन्छ । पुरस्कारको रकम ९० लाख स्विडिस क्रोनरमध्ये अस्किनलाई आधा र बाँकी दुई जनाले आधाआधा प्राप्त गर्नेछन् ।
५५ वर्षपछि महिलाले भौतिकशास्त्रमा पुरस्कार पाएकी छिन् । डोना भौतिकशास्त्रको पुरस्कार पाउने तृतीय महिला हुन् । यसअघि सन् १९०३ मा म्याडम क्युरी र १९६३ मा म्यारिया गोपोएर्टले यो पुरस्कारबाट सम्मानित हुने मौका पाएका थिए ।

चिकित्साशास्त्र

यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी प्राध्यापक जेम्स पी एलिसन र जापानका प्राध्यापक तासुकी होन्जोले संयुक्त रूपमा प्राप्त गरे । उनीहरूले शरीरको रोग प्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचार विधि पत्ता लगाएका कारण नै यस वर्षको चिकित्साशास्त्रको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । क्यान्सर उपचारमा रेडियसन थेरापी, किमो थेरापी र शल्यक्रियाबाहेक वैज्ञानिकहरूले इम्युनोथेरापी पत्ता लगाएका छन् जसका लागि यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको हो ।

शान्ति

यस वर्षको शान्ति नोबेल पुरस्कार डा. डेनिस मुकवेगे र नदिया मुरादले संयुक्त रूपमा प्राप्त गरेका छन् । द्वन्द्वको परिस्थितिमा यौन हिंसाविरुद्ध उत्कृष्ट कार्य गरेको भन्दै प्रजातान्त्रिक गणतन्त्र कंगोका डा. डेनिस मुकवेगे र इराकी याजिदी अभियन्ता नदिया मुरादलाई संयुक्तरूपमा सन् २०१८ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । नोबेल समितिका अध्यक्ष बेरिट रेइस एन्डरसनले उक्त पुरस्कारको घोषणा गरेका हुन् । बेरिटले भनेका छन् दुबैले युद्ध र सशस्त्र द्वन्द्वमा यौन हिंसालाई हतियारका रूपमा प्रयोग गर्ने प्रवृत्ति अन्त्यका लागि प्रयत्न गरेकोले यस वर्षको नोबेल शान्ति पुरस्कारले उनीहरूलाई यस वर्ष सम्मानित गर्ने निर्णय गरिएको हो ।
नोबेल पुरस्कार प्राप्त गर्नेमा एकजना चिकित्सक र अर्का बलात्कार पीडित युवती हुन् । ६३ वर्षीय डा. मुकवेगे दुई दशकदेखि युद्धले क्षतविक्षत प्रजातान्त्रिक गणतन्त्र कंगोमा यौन हिंसा र बलात्कारजस्ता अमानवीय कार्यबाट पीडित महिलाको उपचार र समाजमा पुनस्र्थापित गराउन कार्यरत छन् । यस्तै, २५ वर्षीया मुराद भने याजिदी समुदायकी बलात्कार पीडित युवती हुन् । उनलाई आइएस लडाकुले सन् २०१४ मा अपहरण गरी बलात्कार गरेका थिए । उनलाई ३ महिनासम्म यौनदासी बनाइएको थियो । सन् २०१४ अगष्टमा उत्तरी इराकबाट अपहरित मुरादलाई लडाकुले इराककै मोसुल शहरमा लगी सामूहिक बलात्कार, यातना र कुटपिट गरेका थिए । नदिया मुराद उत्तरी इराककी याजिदी समुदायकी अल्पसङ्ख्यक हुन् । आइएस सैनिकबाट तीन हजारभन्दा बढी याजिदी महिला र युवतीहरू यौनजन्य र अन्य हिंसाबाट पीडित भएका थिए । यी दुबैलाई महिला बालबालिकाहरूले भोग्नुपरेको यौन हिंसाका विरुद्धमा सशक्तरूपमा आवाज उठाएका कारण नै यस वर्षको नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको नोबेल एकेडेमीले जनाएको छ । डा. मुकवेगे र मुरादले संयुक्त रूपमा प्राप्त गरेको उक्त पुरस्कारको राशि रु १० लाख अमेरिकी डलर रहेको छध्र
तर साहित्यतर्फ यस वर्षको नोबेल पुरस्कार प्रदान नगरिने भएको छ । एउटा यौन दुव्र्यवहारको घटनाका कारण स्वीडिस एकेडेमीले यस वर्ष साहित्य विधाको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरेको छैन । अर्को वर्ष सन् २०१८ र २०१९ मा दुबै वर्षका पुुरस्कार विजेताको नाम एकैचोटि घोषणा गरिने नोबेल कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्