२० मङ्सिर, जनकपुरधाम – जनक हजारी विद्यापीठ जनकपुरको भोगमा रहेका गुठी संस्थानको जग्गाको नक्कली जग्गा धनी दर्ता स्रेस्ता बनाई आफ्नो हो भनी दाबी गर्ने रत्नसागरका महन्त बैकुण्ठदास वैष्णवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दासलाई अपराध महाशाखा काठमाडौँको सहयोगमा काठमाडौँस्थित होटल तिरूपतिबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले दासलाई हिजो साँझ काठमाडौँमा पक्राउ गरी आज जनकपुर ल्याई अनुसन्धान भइरहेको बताए ।
विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको जाहेरीअनुसार दासले गुठीको जनकपुर उपहानगरपलिका वडा नं ८ किता नं ६२ को दुई कट्ठा ११ धुर र किता नं २८ को दुई बिघा आठ कट्ठा १४ धुर क्षेत्रफलको जग्गाको नक्कली जग्गा धनी दर्ता स्रेस्ता बनाई उच्च अदालतमा समेत पेश गरेको थियो ।
सरकारी कागज कीर्ते मुद्दामा वारदातपछि फरार रहेका दासलाई धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख थपलियाले दासको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको बताउँदै मुद्दा पुरानो भएकाले मुलुकी ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
एक प्रश्नको जवाफमा उनले यस घटना सरकारी कर्मचारीको संलग्नता नरहेको, दास आफैँले नक्कली छाप र कागज बनाएको देखिएको बताए ।