केही वर्ष विद्यार्थीको सङ्ख्यामा कमि आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ । त्रिविमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी सङ्ख्यामा वृद्धि हुन थालेको हो ।
त्रिविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकि सङ्कायमा नयाँ प्राविधिक विषयको पठनपाठन हुन थालेपछि भर्ना दर बढेको त्रिविका योजना निर्देशनालयका प्रमुख प्राडा.ऋदिशकुमार पोखरेलले जानकारी दिए ।
त्रिविमा शैक्षिक सत्र २०६९/७० देखि लगातार तीन शैक्षिक सत्रसम्म विद्यार्थी भर्ना घटेकोमा त्यसपछि भने बढेको पाइएको छ । शैक्षिक सत्र २०७२/७३ देखि लगातार अहिले विद्यार्थी सङ्ख्या बढेको उहाँले जानकारी दिनुभयो । शैक्षिक सत्र २०७१/७२ मा दुई लाख ९८ हजार ९९० विद्यार्थी सङ्ख्या भएकोमा शैक्षिक सत्र २०७२/७३ मा विद्यार्थी सङ्ख्या तीन लाख ६० हजार २५४ पुगेको छ ।
मानविकि तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा डा शिवलाल भुसालले नयाँ शैक्षिक कार्यक्रमले गर्दा पछिल्लो चरणमा मानविकि सङ्काय पढ्ने विद्यार्थी बढेको बताए । उनका अनुसार स्नाकोत्तर तह द्वन्द्व, शान्ति र व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्धन तथा कूटनीति, सामजिक कार्य, परामर्श मनोविज्ञान, खेलकूद विज्ञान, पर्यटन तथा आतिथ्य र स्नातक तह ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए), सामाजिक कार्य (विएसड्ब्लु) जस्ता विषय पढाइ हुन थालेका छन् ।
मानविकी सङ्कायमा अर्थशास्त्र, राजनीतिक शास्त्र, सामाजिक शास्त्र र ग्रामीण विकासमा विद्यार्थीको सङ्ख्या पहिलेकै तुलनामा यथावत भएपनि नेपाली, इतिहास, भाषा विज्ञान जस्ता विषयमा विद्यार्थी सङ्ख्या घटेको डीन भुसालले जानकारी गराए । नयाँ–नयाँ कार्यक्रमले व्यवस्थापन सङ्कायमा विद्यार्थी सङ्ख्या घटेका छैनन् । व्यवस्थापन सङ्कायका डीन प्राडा डिल्लीराम शर्माले सेमेष्टरका कारण स्नातकोत्तर तहमा विद्यार्थी घटे पनि स्नातक तहमा भने बढेको बताए ।
उनले पहिल्यैकै तुलनामा विद्यार्थी व्यवस्थापन सङ्कायमा रहेको बताए । उनले आंगिक क्याम्पसमा नयाँ/नयाँ कार्यक्रम सञ्चालन भएकोले विद्यार्थी सङ्ख्या स्नातक तहमा बढेको जानकारी गराए । यस वर्षदेखि व्यवस्थापन सङ्काय अन्तर्गत स्नातकोत्तर तहमा मास्टर अफ माउन्टेरिङ स्टडिज् (एमएमएस), मास्टर इन पुलिस साइन्स (एमपिएस) शुरुवात गर्न थालेको छ भने होटेल म्यानेजमेन्ट, जनप्रशासन, व्यवस्थापन प्रशासन जस्ता विषय पढाइ हुने गरेका छन् ।
स्नातक तहमा ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (विआइएम), ब्याचलर अफ माउन्टेरिङ स्टडिज् (विएमएस), ब्याचलर अफ विजनेश म्यानेजमेण्ट (विविएम), ब्याचलर अफ होटल म्यानेजमेन्ट (विएचएम०) जस्ता प्राविधिक विषय पढाइ हुने गरेका छन् ।
डीन शर्माका अनुसार स्नातकोत्तर तहमा वार्षिक कार्यक्रममा २५ हजार विद्यार्थी हुने गरेकोमा सेमेष्टरका कारण अहिले ८ हजारमात्र विद्यार्थी रहेका छन् । व्यवस्थापन सङ्कायले त्रिवि केन्द्रीय क्याम्पसमा यस वर्षदेखि एमविएमा अर्को सत्र सञ्चालन गर्ने भएको छ ।
पहिले ३५ विद्यार्थीमात्र पढाउने गरेकोमा अहिले थप अर्को सत्र सञ्चालन गरेर ३५ जनालाई पढाउन थालिएको उनले जानकारी गराए । शैक्षिक सत्र २०७३/७४ मा विद्यार्थी सङ्ख्या तीन लाख ६७ हजार ४२७ पुगेको छ । योजना प्रमख पोखरेलले नयाँ नयाँ प्राविधिक विषयले त्रिविमा अहिले विद्यार्थी सङ्ख्या बढ्दै गएको बताए ।
शैक्षिक सत्र २०६८/६९ मा तीन लाख ७३ हजार ८४६ विद्यार्थी सङ्ख्याबाट शैक्षिक सत्र २०६९/७० मा झण्डै दुई लाख २५ हजार बढेर ६ लाख चार हजार ४३७ विद्यार्थी पुगेका थिए । त्यसपछि शैक्षिक सत्र २०७०/७१ मा त्यो सङ्ख्यामा पुनः एक लाख विद्यार्थी घटेका थिए ।
उक्त शैक्षिक सत्रमा चार लाख पाँच हजार ३४१ विद्यार्थी अध्ययरत रहेका थिए । योजना प्रमुख पोखरेलका अनुसार अहिले २ प्रतिशतका दरले विद्यार्थी सङ्ख्या वृद्धि भएको छ । यसैगरी त्रिविमा महिला विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि भएको छ । त्रिविको पछिल्लो तथ्याङ्क अनुसार महिला विद्यार्थीको सङ्ख्यामा ३४ प्रतिशत वृद्धि भएको उनले जानकारी गराए ।