१७ मङ्सिर, रुपन्देही – प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन थापाले फरक क्षमता भएका व्यक्तिलाई अवसर र सम्मानको खाँचो रहेको बताएका छन् ।
सत्ताइसौँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले फरक क्षमता भएका व्यक्तिले पनि समाजमा महत्वपूर्ण योगदान पुर्याइरहेकाले उनीहरुलाई सम्मान अवसर दिनुपर्नेमा जोड दिए ।
सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवाली, राष्ट्रिय अपाङ्ग महासङ्घका प्रदेश नं ५ का अध्यक्ष देवीदत्त आचार्य, गैसस महासङ्घका प्रदेश सचिव गोविन्द रेग्मी लगायतले फरक क्षमता भएका व्यक्तिलाई सम्मानजनक रुपमा बाँच्न पाउने वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा अपाङ्गताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत दाङका प्रतिमा शर्मा, फरक क्षमता भएका बाँकेका गोकर्णप्रसाद आचार्य, न्यून दृष्टियुक्त रामरतन हरिजन, यमबहादुर विक, भावुकजङ्ग थापा र सुनिल सुवेदी (क्षेत्री) लाई सम्मान गरिएको थियो । त्यस्तै, एबिसी नेपाललाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।