Logo

जुम्लामा केन्द्रीय प्रसारण लाइन जोडिने



Spread the love

६ मङ्सिर, खलङ्गा – जुम्लामा आगामी दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारण लाइन जडान गरिने भएको छ ।

कोहलपुर हुँदै दैलेखको महाबु र कालिकोटको चिल्खायाबाट जुम्लाका लागि ३३ केभीको केन्द्रीय विद्युत् प्रसारण लाइन जडान गरिने नेपाल विद्युत् प्राधिकरणका शम्भुप्रसाद पौडेलले जानकारी दिए ।

साना जलविद्युत् उपभोक्ता समिति जुम्लाले प्रसारण गर्दै आइरहेको विद्युत् सेवाका विषयमा आज चन्दननाथ नगरपालिकामा आज भएको छलफलमा प्राधिकरणका पौडेलले जुम्लामा केन्द्रीय विद्युतीकरणमा जोड दिए । छलफलमा राजनीतिक दल, नागरिक समाज र स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो ।

साना जलविद्युत् उपभोक्ता समितिसँग प्राधिकरणले गरेको १० वर्षे सम्झौताको समय अवधि समाप्त भएकाले पुनःनवीकरणका लागि निवेदनसमेत दिएको विद्युत् प्राधिकरणका खेम लम्सालले जानकारी दिए ।

पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डययन राज्यमन्त्री बलबहादुर महतले जुम्लाको सन्दर्भमा विद्युत्को ठूलो समस्या भएकाले पहिलो प्राथमिकतामा राखेर काम गरिदिन विद्युत् प्राधिकरणका टोलीसँग आग्रह गरे ।

पूर्वसंसद देविलाल थापा र चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले पर्याप्त विद्युत् प्रवाह नहुँदा सरकारी र गैरसरकारी कार्यालयका कर्मचारीको कामकाजमा समस्या भएको बताए ।

प्रतिक्रिया दिनुहोस्