Logo

फेवातालमा माछाका भुरा छाडियो



Spread the love

५ मङ्सिर, कास्की – स्वदेशी जातका माछाको सङ्ख्या बढाउने उद्देश्यले आज विश्व मत्स्य दिवसको अवसर पारेर फेवातालमा १० हजार माछाका भुरा छाडिएको छ ।

स्वदेशी जातका माछा लोप हुँदै जान थालेपछि मत्स्य अनुसन्धान केन्द्र, हर्पन फेवा मत्स्य सहकारी संस्था तथा माछापुच्छ्रे जलारी आमा समूहको संयुक्त आयोजनामा भुरा छाड्ने कार्यक्रम गरिएको हो । केही वर्षअघिसम्म तालमा सहर, बाम, कत्ले, रेवा, काँडे र फगेटाजस्ता स्वदेशी प्रजातिका माछा मात्र पाइने गरेकामा हाल टिलापिया, माउर र कमन जस्ता आयातित प्रजातिका माछाको बाहुल्यता रहेको हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले बताए ।

पोखरा महानगरपालिकाका उप्रमुख मञ्जुदेवी गुरुङले पानी प्रदूषण, तालको क्षेत्रफल घट्दै जानु र अवैध माछा मार्नाले स्वदेशी माछा लोप हुँदै गएको बताए । उनले विगतमा तालमा २४ प्रजातिका स्वदेशी माछा पाइने गरेकामा अहिले लोप हुँदै गएकाले संरक्षण गर्नुपर्ने खाँचो औँल्याए ।

मत्स्य अनुसन्धान केन्द्रका निर्देशक अीग्न नेपालले स्थानीय माछाको सङ्ख्या बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । महानगरका कृषि महाशाखा प्रमुख मनोहरप्रसाद कँडरियाले पोखरालाई माछामा आत्मनिर्भर गर्नसके विषादी मिसाइ बाहिरबाट आउने माछालाई रोक्न सकिने बताए । मत्स्य सहकारीका अध्यक्ष जलारीले तालमा स्थानीय जातको माछा हराउँदै जानुमा प्रदूषण नै मुख्य कारण रहेको बताए । उनले हाल ९१ घरपरिवारले तालमा माछा मारेर नै जीवन निर्वाह गर्दै आएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्