४ मङ्सिर, काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा गणतन्त्रको स्थापना भएपनि आर्थिक समृद्धि कायम नभएकाले जीविकोपार्जनमा समस्या आएको बताएका छन् ।
पार्टीले आज आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति र राजतन्त्रको पुनस्र्थापनाको खतरा’ विषयक अन्तरक्रियामा उहाँले उत्पादन र वितरण प्रणालीमा यान्त्रिकीकरण नभएसम्म सामाजिक परिवर्तन, आर्थिक विकास र सामाजिक न्याय कायम हुन नसक्ने बताए ।
पूर्वउपप्रधानमन्त्री केसीले कम्युनिस्ट पार्टीको एकताबाट निर्माण भएको दुई तिहाइ जनादेशको सरकारले शान्तिसुरक्षा कायम र महँगी नियन्त्रण गर्न नसक्दा जनता अहिलेको राजनीतिक व्यवस्थाप्रति नै निराश बनेर राजतन्त्र फर्कने खतरा रहेकामा चिन्ता व्यक्त गर्दै दलहरुलाई त्यसतर्फ संवेदनशील बन्न आग्रह समेत गरे ।
स्वदेशी उत्पादनलाई संरक्षण गर्न नसकिएका कारण मुलुकमा आयात बढेको तथा बहुराष्ट्रिय कम्पनीको उत्पादनको प्रयोगले व्यापार घाटा थपिएको उनको भनाइ रहेको थियो । कार्यक्रममा पार्टीले प्रस्तुत गरेको अवधारणापत्रमा अहिले पूर्वराजा र राजवादीहरु नेपालमा धर्मको नाममा राजनीति गरिरहेका कारण मुलुकमा राजतन्त्र पुनःस्थापना हुने खतरा रहेकाले यसप्रति सबै सचेत हुन समेत भनिएको छ ।