Logo

सामुदायिक भवन शिलान्यास



Spread the love

३ मङ्सिर, भक्तपुर – मध्यपुर थिमि नगरपालिकाले मथिनपा–४ स्थित शङ्खधर चौक नजीकै निर्माण हुन लागेको सामुदायिक भवनको शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त भवनको शिलान्यास गरेका हुन् ।

नगरपालिकाले एक वर्षभित्र सामुदायिक भवन निर्माण सम्पन्न गर्ने मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले हरेक वर्ष शङ्खधर दिवस मनाउने भएको छ । यस वर्ष पहिलो पटक उपत्यकाका नगरप्रमुख र उपप्रमुखलाई भेला गर्दै मनाएको दिवस अब हरेक वर्ष मनाइने मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले बताए ।

नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वालाई सम्झिएर सरकारले शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई नगरपालिकाले अबदेखि हरेक वर्ष शङ्खधर दिवसका रुपमा मनाउने भएको उनले जानकारी गराए । नगरपालिकाले मध्यपुरथिमि शङ्खधरचोकमा शङ्खधर साख्वाःको शालिकसँगै आयोजना गरेको उपत्यकासहितका १० नगरप्रमुख र १२ उपप्रमुख मध्यपुर थिमिमा भेला गरेर दिवस मनाएको हो ।

कार्यक्रमका काठमाडौँ महानगरका प्रमुख शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुृख वासुदेव थापा, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिङ बादे श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोरा, बूढानीलकण्ठ नगरपालिकाप्रमुख उद्धवप्रसाद खरेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी नगरपालिकाका प्रमुखहरुले नेपाल संवत्लाई व्यवहारमै लागू गर्दै सरकारी कामकाजमा सबै कार्यालयले ल्याउनुपर्ने र विक्रम संवत्को ठाउँमा नेपाल संवत् राख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्