३ मङ्सिर, काठमाडौँ – नेपालीको खाना खाने बानीमा आएको परिवर्तनसँगै गहुँको उत्पादन वृद्धि गर्नु आवश्यक छ । हाल नेपालको जनसङ्ख्यालाई धान्न गहुँको उत्पादन दोब्बरले वृद्धि गर्न विज्ञले सुझाव दिएका छन् ।
हाल गहुँको उत्पादन १९ लाख मेट्रिक टन छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बाली तथा बागबानी निर्देशक डा दीपक भण्डारीले गहुँको रोटी खाने बानी वृद्धि हुँदै गएकाले उत्पादन दोब्बर वृद्धि गर्नुको विकल्प नरहेको बताउनुहुन्छ । धान र मकैपछि गहुँ तेस्रो प्रमुख खाद्यान्न बाली हो । सर्वसाधारणले गहुँको ढिँडो, पानरोटी, दूधरोटी र सुप बनाई प्रयोग गर्छन् । बेकरी उद्योग, चाउचाउ, मैदा र सुजीको पीठो बनाउनसमेत यसको प्रयोग गरिन्छ ।
प्रायः बिहान, बेलुका र साझ भात खाने बानी परेका नेपालीको खाना खाने बानीमा क्रमशः सुधार हुँदै गएको छ । विशेष गरी शहरी क्षेत्रमा बसोवास गर्ने, तथा शारीरिक परिश्रम गर्न नपर्ने व्यक्तिलाई गहुँको परिकार खान चिकित्सकले सुझाएका कारण गहुँको गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । नेपालको जनगणना २०६८ अनुसार जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार छ । सो जनसङ्ख्यालाई धान्न धानको उत्पादन ६० लाख मेट्रिक टन आवश्यक पर्छ । नेपालका लागि अझै प्रतिवर्ष करीब १० लाख मेट्रिक टन धान अपुग रहेको कृषि तथा पशु विकास मन्त्रालयले जनाएको छ ।
प्रतिमहीना झण्डै रु दुई अर्बको चामल आयात भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । बढ्दो जनसङ्ख्यालाई धान्न सरकारले आगामी पाँच वर्षमा अन्नको उत्पादन दोब्बरले वद्धि गर्ने नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरेको छ । आगामी पाँच वर्षमा गहुँको उत्पादन ७२ लाख मेट्रिक टन पुर्याउनु पर्ने हुन्छ । मङ्सिर गहुँखेती गर्ने समय हो । जमीन खनजोत गर्ने तथा मल र बीउको जोहो गर्ने समय हो । कूल खेतीयोग्य जमीनमध्ये झण्डै सात लाख ५० हजार हेक्टरमा गहुँखेती गर्न सकिन्छ । नेपालको कूल खेतीयोग्य जमीन ४१ लाख २१ हजार हेक्टर छ भने १० लाख ३० हजार हेक्टर जमीन बाँझो छ ।
नेपालमा उन्नत बीउबाट गहुँखेती २०१७ सालदेखि गरिएको इतिहास छ । यसअघि परम्परागत रैथाने पुरानो बीउबाट खेती गरिन्थ्यो । नेपालमा सरकारले १८ जातका गहुँको बीउ सिफारिस गरेको छ । गहुँको कूल उत्पादनमध्ये ७० प्रतिशत तराईका २२ जिल्लामा हुन्छ । सरकारले तराईका लागि विजय, गौतम, एनएल ९७१, भृकुटी र बाडगङ्गा बीउ सिफारिस गरेको छ । बाह्र वर्षपछि नार्कले यसवर्ष बिएल ४३४१ उच्चकोटीको नयाँ जात (मुलबीउ) उन्मोचन गरेको छ । नार्कले नेपालको हावापानी र माटो सुहाउँदो गहुँको बीउ क्रमशः उन्मोचन गर्दै गएका कारण नेपाल गहुँको बीउमा आत्मनिर्भर छ । तराईका केही जिल्लाबाट भारतको उत्तरप्रदेश र बिहारसम्म नेपाली जातका गहुँको बीउ निर्यात हुँदै आएको बताइन्छ ।
तराई बाहेक अन्य क्षेत्रमा धौलागिरि, डाँफे, मुनाल, च्याखुरा, लोर्मा–५२, आर आर–२१ अन्नपूर्ण एक, तीन र चार, कान्ति, पासाङल्हामु, डब्लुके १२०४ जातका बीउबाट गहुँखेती गर्न सकिन्छ । असारमा रोपाइँ गरेपछि कात्तिक–मङ्सिरमा धान काट्ने गरिन्छ । बीउ छरेदेखि उत्पादन लिने समयसम्म गहुँमा तीन पटक सिँचाइ र आवश्यकताअनुुसार प्राङ्गारिक, डिएपी र नाइट्रोजन मल आवश्यक पर्छ । नेपालमा सरदर गहुँको खपत १० लाख मेट्रिक टन छ । करीब आठ लाख मेट्रिक टन मैदा, सुजी र बेकरी उद्योगमा खपत हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
विसं २०६९ मा सात लाख ६५ हजार ३१७ हेक्टरमा गहुँखेती गरी १७ लाख ४६ हजार १४२ मेट्रिक टन, २०७० मा सात लाख ५४ हजार २४३ हेक्टरमा गहुँखेती गरी १७ लाख २७ हजार ३४६ मेट्रिक टन, २०७१ मा सात लाख ५४ हजार ४७४ हेक्टरमा गहुँखेती गरी १८ लाख ८३ हजार मेट्रिक टन, २०७२ मा सात लाख ६२ हजार ३७३ हेक्टरमा गहुँखेती गरी १९ लाख ७५ हजार ६२५ मेट्रिक टन तथा २०७३ सालमा सात लाख ५३ हजार ४७० हेक्टरमा गहुँखेती गरी १८ लाख ११ हजार ८८९ मेट्रिक टन गहुँ उत्पादन भएको सरकारले प्रकाशन गरेको कृषि डायरीमा उल्लेख छ ।