२९ कात्तिक, दमौली – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पवित्र वेदव्यासभूमिलाई पूर्वीय दर्शनको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा तनहुँको दमौलीस्थित व्यास गुफा क्षेत्रमा जारी विश्वओमकार तथा हिन्दू महामिलन पर्वमा आज मन्त्री अधिकारीले व्यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउँदै पूर्वीय दर्शनबाट प्रभावित हुने मानिसलाई यहाँ आउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
मन्त्री अधिकारीले भने, “ व्यासको महिमालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउँदै यसलाई एउटा धार्मिक पर्यटनको केन्द्र बनाउनेतर्फ जनस्तरबाट लाग्नुपर्छ । त्यसमा सङ्घीय सरकारको साथ र सहयोग रहन्छ ।” मन्त्री अधिकारीले व्यासभूमिलाई गुरुयोजनानुसार विकास गर्नुपर्नेमा जोड दिए । धार्मिकस्थल र प्राचीन सम्पदाको संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको बताउँदै उहाँले त्यसकै माध्यमबाट आध्यात्मिक जागरण सिर्जना गर्न सकिनेछ भने ।
कार्यक्रममा सांसद कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल र कलिला खान, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत सहभागी भएका छन् । कात्तिक १ देखि शुरु भएको पर्व ३० गतेसम्म सञ्चालन हुनेछ । पर्वमा देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिए ।
गत वर्ष कात्तिक १ गतेदेखि १८ महीनासम्म अखण्ड हरिकीर्तन गरिएको यस ठाउँमा त्यसैको निरन्तरतास्वरुप अब प्रत्येक वर्ष कात्तिक महीनामा यो कार्यक्रम आयोजना गरिने छ । पर्वका अवसरमा महर्षि वेदकोबारेमा समेत भक्तजनलाई जानकारी गराउने गरिएको छ ।सो अवसरमा वैदिक सनातन विधिअनुसार हीरण्यगर्भ भगवानी शालिग्राम तथा पञ्चायन देवताको षोडशोपचारले पूजा, वेद, विभिन्न पुराण, रुद्री, चण्डि आदिको पाठ, धर्म गुरुबाट दैनिक धार्मिक प्रवचनलगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
मन्त्री अधिकारीले आज नै दमौलीमा रहेको तमुसार क्होईबो गुम्बाको अवलोकन गर्दै गुम्बामा निर्माण गर्न लागिएको गुरुङ सङ्ग्रहालयका लागि मन्त्रालयबाट आवश्यक बजेट विनियोजन गर्नेतर्फ आफू सकारात्मक रहेको मन्त्री अधिकारीले बताए ।