२७ कात्तिक, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ चीन महोत्सव–२०१८ को आज शुभारम्भ गरेकी छिन् ।
महोत्सव चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपालस्थित चिनियाँ दूतावासको आयोजनामा भएको हो । सो अवसरमा संस्कृतिमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् १९५५ मा कूतनीतिक सम्बन्ध स्थापना भएयता नेपाल चीन सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको र चीनले भूकम्पका बेला राहत प्रदान गर्नाका साथै पुन निर्माणमा सहयोग गरी नेपालीको मन जितेको बताए ।
उनले नेपालका काठमाडौँ, ललितपुर र भक्तपुर अद्वितीय सम्पदाले भरिपूर्ण रहेको तथा नेपाल जातजाति, भाषा तथा जैविक विविधताले भरिपूर्ण भएकाले चिनियाँ पर्यटकलाई यहाँ भित्र्याउन सकिने बताए । मन्त्री अधिकारीले यस्ता महोत्सवले पर्यटन गतिविधि बढ्न गई सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न सकिने बताए ।
सो अवसरमा चीनका संस्कृतिमन्त्री लो सु काङले नेपाल र चीन नदी तथा पहाडले जोडिएको तथा चीनको एक क्षेत्र एक मार्ग(बिआरआई)अवधारणाले यिनलाई झन् नजीक बनाउने विश्वास व्यक्त गर्दै सन् २००३ देखि शुरु भएको महोत्सवले आपसी आदानप्रदान र सहकार्यमा राम्रो प्रभाव पारेको बताए ।
नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन नेपालको दोस्रो ठूलो पर्यटकको स्रोत देश भएको बताउँदै नेपालमा सन् २०१७ मा पर्यटक २५ प्रतिशतले वृद्धि भएको उल्लेख गरे । दुईदिने महोत्सवमा चिनियाँ राष्ट्रिय ब्यालेका कलाकारले आकर्षक नृत्यनाटक प्रस्तुत गरेका थिए ।