Logo

अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठी माताको आराधना



Spread the love

२७ कात्तिक, काठमाडौँ – छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो । बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ अन्त्य हुन्छ । गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा बेहुली झैँ सिँगारेर छठ घाट बनाइएको छ । लाखौँ भक्तजनले आज बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नदीको बीच भागमा बनाइएको छठी माताको मूर्तिमा पूजाआराधना गरिन् । उनलाई श्री छठ पूजा समितिका पदाधिकारीले गुह्येश्वरी नदी क्षेत्रमा स्वागत गरेका थिए ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बसेका छन् । रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने समिति सदस्य चन्द्रकान्त यादवले बताए । आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

बुधबार छठ सकिएपछि नदी किनारमा सफाइ अभियान शुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । सफाइमा काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापा, गुह्येश्वरी विनायक युवा क्लबका सदस्य, सफाइ अभियानकर्मी लगायतको सहभागिता रहने जनाइएको छ । चार दिनसम्म निरन्तर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा सफाइ अभियान चलाइने अध्यक्ष पुडासैनीले बताए ।

प्रतिक्रिया दिनुहोस्