Logo

दिल्लीबाट ४० नेपाली महिलाको उद्धार



Spread the love

१९ कात्तिक, राँझा – भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश ल्याइएको हो । गाजियावादको इन्द्रपुरममा अलपत्र परेका ३७ महिलालाई भारतीय प्रहरीको सहयोग तथा दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा माइती नेपाल र माइती इण्डियाले गत कात्तिक ६ र ७ गते उद्धार गरेको थियो । उनीहरूलाई आवश्यक परामर्शपछि पारिवारिक पुनःस्थापनाका लागि आज नेपालगञ्ज ल्याइएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।

भारतीय प्रहरीको सुरक्षामा उनीहरूलाई नेपालगञ्ज पुर्याइएको थियो । उद्धार गरिएकामा झापाका सबैभन्दा धेरै १० जना रहेका छन् । उनीहरूलाई परिवारको सम्पर्कका आधारमा घरसम्म पुर्याइने उनले जानकारी दिए । खाडीमुलुक कुवेत र साउदीमा मासिक रु ५० हजार तलब मिल्नेगरी रोजगारी दिलाइदिने आश्वासन पछि आफूहरू जान तयार भएको उनीहरुले बताएका छन् ।

सत्र जना, १३ जना र सात जना गरी ३७ महिलालाई छुट्टाछुट्टै स्थानमा राखिएको अवस्थामा उद्धार गरिएको माईती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेले बताए । अलपत्र महिला बेचबिखनको जोखिममा रहेका सूचनाका आधारमा छापा मार्दा भारतीय केदार नामका एक जना पक्राउ परेको पाण्डेले जानकारी दिए । केदारले खाडी मुलुकमा नेपाली महिला पठाएबापत प्रतिमहिला चार लाख भारतीय रुपैयाँ आफूले पाउने गरेको भारतीय प्रहरीसामु बयान दिएको उनले जानकारी दिए ।

यस्तै दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलाको पनि उद्धार गरिएको छ । उनीहरूलाई तीन महिना पहिला दिल्लीको जिवीरोडस्थित १५६ नं कोठीबाट उद्धार गरिएको माइती इण्डियाका संस्थापक पाण्डेले जानकारी दिए । सिन्धुपाल्चोकका दुई र नुवाकोटका एक जना गरी तीनको उद्धार गरिएको हो । जिल्ला अदालत गाजियावादले उद्धार गरिएका महिलालाई आवश्यक परामर्श र पारिवारिक पुनर्मिलनका लागि आदेश दिएपछि ३७ जना महिलासँगै उनीहरूलाई पनि नेपाल ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्