Logo

ओलम्पियन लामाको प्रतिमा स्थापना गरिने



Spread the love

१९ कात्तिक, काठमाडौँ – नेपाली खेलकूदमा ऐतिहासिक सफलता प्राप्त गर्नुभएका ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामाको प्रतिमा स्थापना गरिने भएको छ ।

आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा ओलम्पियन लामाको आगामी ६ महिनाभित्र मूर्ति स्थापना गरिने जानकारी गराइयो । नेपाल तामाङ घेदुङ सङ्घले लामाको मूर्ति निर्माणका लागि समिति बनाएर कार्य योजना छिट्टै तयार गर्ने जनाएको छ । समितिका संयोजक डिएन घिसिङ तीन दशक अगाडि नेपालको नाम र इज्जत विश्वभर फैलाउन सफल लामाको प्रतिमा स्थापना गर्न लागिएको बताउँछन् । लामाको मूर्ति काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित उनकै जन्मथलोमा बनाइने छ ।

लामाले सन् १९८४ देखि १९९० सम्म राष्ट्रिय टिमबाट तेक्वान्दो खेलेका थिए । उनले सन् १९८६ मा पहिलो पटक १०औँ एशियाली खेलमा नेपालको तर्फबाट कास्य पदक तथा सन् १९८७ मा स्पेनमा भएको ८औँ विश्व तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेका थिए । लामा सन् १९८८ को आठौँ एशियन च्याम्पियनसिपमा रजत पदक जित्न सफल भएका थिए ।

त्यसैगरी दक्षिण कोरियाको सोलमा सम्पन्न २४औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा लामाले कास्य पदक जितेका थिए । पत्रकार सम्मेलनमा आफ्नो खेल जीवनबारे स्मरण गर्दै लामाले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । आफूलाई साधारण खेलाडीका रुपमा मात्रै लिन आग्रह गर्दै उनले पढ्ने बेला भागेर ब्रुस लिको चलचित्र हेर्न जाने गरेको र त्यसैबाट प्रभावित भई तेक्वान्दोतर्फ आकर्षित भएको बताए । नेपालमा २०३९ सालपछि मात्रै सर्वसाधारणलाई तेक्वान्दो खेल्न दिइएको लामाको भनाइ थियो । उनले आफू पनि त्यसपछि मात्रै तेक्वान्दो खेल्न थालेको बताए । नेपालको इतिहासमा जिवित खेलाडीको मूर्ति बन्न लागेको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्