१८ कात्तिक, काठमाडौँ – प्रतिनिधिसभाका सांसद महेश बस्नेत गुनासो सुन्न काठमाडौँ र भक्तपुरको सिमानामा रहेको मनोहरास्थित सुकुम्वासी बस्तीमा पुगेका छन् ।
पूर्वउद्योगमन्त्री बस्नेतले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुतालगायत मौलिक हक रहेको बताउँदै सुकुम्वासी, दलित, पिछडिएको वर्गलाई राज्यको मूलधारमा ल्याउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कुल ७१३ घरपरिवार रहेको उक्त बस्तीका लक्ष्मण पौडेलले विद्यालय निर्माण गर्दा ऋणमा उक्त समुदाय नै परेको तथा जग्गा धनीपुर्जाको व्यवस्थापन नभएको गुनासो गरे ।
बस्तीका अर्का सदस्य बिमला तामाङले नेपालको संविधानअनुसार गाँस, बास, कपास र भूमिको व्यवस्थापन गरिदिनुपर्र्ने बताए । अर्का सदस्य सिवी लामाले भूमिहीन तथा मजदूरको अधिकारलाई स्थापित गराउनुपर्ने बताए । उनले जन्म, मृत्यु, विवाह दर्तालगायत प्रशासनिक कार्यमा सँगसँगै रही साथ र सहयोग गर्ने बताए ।