तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको छ। तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गरेका हुन्।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेल र स्थापितबीच भनाभन भएको थियो। मन्त्रिपरिषद बैठकमै मुख्यमन्त्रीलाई अपशब्द गरेको आरोप स्थापितमाथि लागेको थियो।
आफूलाई अभद्र व्यवहार गरेपछि सो विषयमा जानकारी गराउन मुख्यमन्त्री पौडेल बिहीबार काठमाडौं आएका थिए। मुख्यमन्त्री पौडेलले शुक्रबार विहान प्रधानमन्त्री केपी ओलीसँग अस्पतालमा नै भेट गरेका थिए। प्रधानमन्त्रीसँगको भेटपछि मुख्यमन्त्री पौडेलले स्थापितलाई मन्त्री पदबाट बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री पौडेलले संधिवानको धारा १६९ को उपधारा २ को खण्ड (ख) अनुसार स्थापितलाई बर्खास्त गरी स्थापितले सम्हालेको मन्त्रालयको जिम्मेवारी आफैंले लिएका छन्।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्री पौडेलले स्थापितले सम्हालेको मन्त्रालयको कामको गति सुस्त भएको र कार्यशैली ठिक नभएको बताएपछि आक्रोशित भएका स्थापितले मुख्यमन्त्री पौडेललाई बैठकमा नै अपशब्द प्रयोग गरेको आरोप लागेको थियो।
महिलामथि यौन दुव्र्यवहार र उत्पीडनको आरोप खेपिरहेका मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई पनि पटक/पटक अभद्र व्यवहार गरेको आरोप छ। मन्त्री स्थापित काठमाडौं महानगरकी एक पूर्वकर्मचारीबाट यौनसम्बन्धि आरोप पनि खेपिरहेका छन् ।स्थापितले २०७४ माघ २९ गते पद तथा गोपनियताको सपथ लिएका थिए।
#MeToo अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाकी पूर्व कर्मचारीबाट यौन दुर्व्यवहारको आरोप खेपिरहेका स्थापितले मन्त्रिपरिषद् बैठकमै अभद्र व्यवहार गरेपछि उनी बर्खास्त भएका हुन्। ।
मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोपमा स्थापितलाई हटाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।