१४ कार्तिक, कतार – राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक भएकी छिन् । राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी कार्यकारी अधिकृत शेख हिन्द बिन्द खालिफा अल थानीले स्वागत गरेका थिए ।
उक्त फाउण्डेसन अन्तर्गत विभिन्न विश्वविद्यालय तथा शिक्षालयहरू सञ्चालित छन् जहाँ ९० भन्दा बढी देशका विद्यार्थीहरू विभिन्न संकायमा अध्ययनरत छन् ।
यसै बीच यस फाउण्डेसनकी अध्यक्ष शेख मोजा बिन्द नसिरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी छिन् । सो अवसरमा उनीहरू बीच विज्ञान, प्रविधि, खाद्यसुरक्षा लगायातका क्षेत्रमा दुई देशबीच अनुसन्धान र सहकार्य गर्ने विषयमा छलफल भएको वार्तामा सहभागी रहेका परराष्ट्र मन्त्रालयका अधिकृत श्रीकृष्ण सिलवालले जानकारी दिनु भएको छ। यसै गरी महिला सशक्तीकरण र बालशिक्षाका क्षेत्रमा समेत दुई देश बीच सहकार्य गरेर अगाडि बढ्न सकिने विषयमा समेत छलफल केन्द्रित रहेको अधिकृत सिलवालले बताए ।
राष्ट्रपति भण्डारीले त्यस फाउण्डेसनको विशिष्ट आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ। फाउण्डेसनकी अध्यक्ष नसिरले राष्ट्रपति भण्डारीलाई मायाको चिनो समेत प्रदान गरेकि थिइन् ।
सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य सहभागी थिए ।