१३ कात्तिक, काठमाडौँ – पहाडी भेगमा उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पहाडी क्षेत्रमा पाँच प्रतिशतले मूल्यवृद्धि भएको पाइएको हो ।
गत भदौको क्षेत्रगत उपभोक्ता मुद्रास्फीतिअनुसार उपभोक्ता मुद्रास्फीति तराईमा ३.७, हिमालमा ३.४ र काठमाडौँ उपत्यकामा ३.० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति पहाडमा ३.४, तराईमा ३.८, हिमालमा ५.४ र काठमाडौँ उपत्यकामा २.८ प्रतिशत रहेको थियो । यस्तै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.४ प्रतिशत थियो । गैर–खाद्य तथा सेवा समुहको मूल्य वृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीतिमा केही दवाव सिर्जना हुन गएको छ ।
यस्तै गत भदौमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति १.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समुहको मुद्रास्फीति १.८ प्रतिशत थियो । खासगरी दलहन तथा गेडागुडी, तरकारी एवं चिनीजन्य वस्तुको मूल्यमा आएको गिरावटका कारण समीक्षा अवधिमा समग्र खाद्य तथा पेयपदार्थको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कम भएको हो । गैर–खाद्य तथा सेवा मुद्रास्फीति समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ४.७ प्रतिशत रहेको थियो । यस समूहअन्तर्गत यातायात, फर्निसिङ, घरायसी उपकरण एवं कपडा तथा जुत्ता–चप्पललगायत वस्तु तथा सेवाको मूल्य बढेका कारण समग्र गैर–खाद्य तथा सेवा मुद्रास्फीति वृद्धि भएको हो ।
गत भदौमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ र भारतको ३.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३.४ प्रतिशत र भारतको ३.३ प्रतिशत रहेको थियो । सोही अवधिमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.५ प्रतिशत थियो । खासगरी पेट्रोलियम पदार्थ, आधारभूत धातु तथा कपडा लगायतका वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको केन्द्रीय बैंकले जनाएको छ ।
चालू आव २०७५÷७६ को दुई महीनामा विस्तृत मुद्राप्रदाय ०.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १.८ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा गत भदौ मसान्तमा विस्तृत मुद्राप्रदाय १७.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु २५ अर्ब ४५ करोड (२.४ प्रतिशत)ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु पाँच अर्ब ८७ करोड (०.६ प्रतिशत)ले घटेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा १०.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १३.३ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७५ भदौ मसान्तमा सञ्चित मुद्रा १२.१ प्रतिशतले बढेको छ ।
कुल आन्तरिक कर्जा समीक्षा अवधिमा कूल आन्तरिक कर्जा १.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.७ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७५ भदौ मसान्तमा यस्तो कर्जा २८.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ३.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ३.२ प्रतिशतले नै बढेको थियो । वार्षिक विन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २०७५ भदौ मसान्तमा २२.३ प्रतिशतले बढेको छ । निक्षेप सङ्कलन समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.४ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७५ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७.९ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपमा चल्ती, बचत र मुद्धतिको अंश क्रमशः ७.९ प्रतिशत, ३४.२ र ४५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो अंश क्रमशः ८.३, ३५.६ र ४३.१ प्रतिशत रहेको थियो । विसं २०७५ भदौमा बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो निक्षेपको अंश ४३.७ प्रतिशत रहेको थियो ।
–––