९ कात्तिक, काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्न सके मात्रै मुलुक बलियो हुने बताएका छन् ।
विभागमा आज आयोजित १८ औँ अनुसन्धान अधिकृत आधारभूत तालीम एवं दीक्षान्त कार्यक्रममा उनले जासूसी संयन्त्र बलियो रहेका मुलुकले आर्थिक र सामाजिक विकास गरिरहेको बताए । उनले अन्य सुरक्षा निकायलाई औँला र विभागलाई आँखाको संज्ञा दिँदै सबै निकायबीचको समन्वयमा मात्रै अपराध नियन्त्रण गर्न सकिने उल्लेख गरे ।
विभागले वस्तुनिष्ठ सूचना, तथ्य र तथ्याङ्क सङ्कलन गर्न आवश्यक रहेकामा जोड दिँदै गृहमन्त्री थापाले कल्पनाका आधारमा योजना बनाउँदा असफल हुने टिप्पणी गरे । विभिन्न नाममा देशमा अस्थिरता निम्त्याउन खोज्ने तत्वमाथि निगरानी बढाउन उनले विभाग मातहतका कर्मचारीलाई निर्देशन दिए ।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विभागको महत्व धेरै भए पनि सोअनुसार काम हुन नसकेको बताउँदै यसलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिए । सो विभागका प्रमुख दिपीप रेग्मीले राज्यको आवश्यकता र सोचअनुसार आफूहरु काम गर्न तयार रहेको स्पष्ट पारे । ३ महीनासम्म चलेको सो तालीममा उत्कृष्ट प्रशिक्षार्थी किरण भट्टराईसहित २२ प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।