८ कात्तिक, धनगढी – सङ्घीय सरकारको निर्णयानुसार सुदूरपश्चिम प्रदेशका छ जिल्लामा कृषि ज्ञान केन्द्र र पाँच जिल्लामा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको छ ।
कृषि ज्ञान केन्द्र अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी र कञ्चनपुरमा स्थापना गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी हरिप्रसाद जोशीले बताए । कञ्चनपुरको केन्द्रले कैलाली, डडेलधुराको केन्द्रले डोटी र बैतडीको केन्द्रले दार्चुला हेर्ने गरी कार्यालय स्थापना गरेर सेवा शुरु गरिएको हो ।
यस्तै पशु सेवाविज्ञ केन्द्र बैतडी, डडेलधुरा, कञ्चनपुर, बाजुरा र बझाङमा स्थापना गरिएको छ । बैतडीले दार्चुला, बाजुराले अछाम, डडेलधुराले डोटी र कञ्चनपुरले कैलालीलाई हेर्ने गरी कार्यालय स्थापना भएको बताइएको छ । स्थापित कार्यालयमा दरबन्दीअनुसार कर्मचारीको खटनपटन हुन नसक्दा सेवा प्रभावकारी बन्न सकेको छैन् । विगतमा सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कृषि विकास र जिल्ला पशु सेवा कार्यालय थिए ।
सूचना अधिकारी जोशीले भने, ‘‘कार्यालय स्थापनासँगै कार्यालयका लागि चालू आवको बजेट तथा कार्यक्रम प्रदेश मन्त्रालयबाट निकासा गर्ने तयारी भइरहेको छ ।” साविकका कृषि र पशु सेवा कार्यालय रहेका स्थानमा एकाइ कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्नका लागि मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसंँग अनुरोध गरेको उनले जानकारी दिए ।
पशुपतिनगर–भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतमा रहने गरी कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । गत असोज २८ गते प्रदेश नं १ को सरकारले गरेको सो निर्णय कार्यान्वयन गर्दै बुधबारदेखि पुरानो कृषि विकास कार्यालय रहेको भवनमा कार्यालय सञ्चालनमा आएको हो ।
जिल्लाभरि कार्यक्षेत्र रहेको सो केन्द्रमा १४ दरबन्दी छ । पुरानो कृषि विकास कार्यालयका प्रमुख रामस्वार्थ साहलाई पुरानै जिम्मेवारी तोकिएको छ । विशेष सेवा, तालीम तथा प्रचारप्रसार, अध्ययन परीक्षण तथा तथ्याङ्क र प्रशासन शाखा रहने उक्त केन्द्रलाई प्रदेश सरकारले १८ कार्यभार सुम्पेको छ ।