Logo

दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई १५ वर्ष कारागार



Spread the love

१९ असोज, सिओल – दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पदमा हुँदा भ्रष्टाचार र शक्तिदुरुपयोग गरेको ठहर गर्दै यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ ।

घुस लिएको, आर्थिक हिनामिना गरेको र शक्तिदुरुपयोग गरेको अभियोग प्रमाणित भएको भन्दै अदालतले उनलाई झन्डै १ करोड १५ लाख डलर जरिवाना तिर्न आदेश गरेको छ ।

सन् २००८ देखि २०१३ सम्म दक्षिण कोरियाली सत्ता सम्हालेका ७६ बर्षीय लीले आफूविरुद्ध लगाइएका अभियोगहरू राजनीतिक रूपमा अभिप्रेरित भएको दाबी गर्दै आएका छन् । दक्षिण कोरियामा जेल जाने उनी चाैँथा पूर्वनेता हन् ।

उनकी उत्तराधिकारी पार्क गुन हेलाई गत अप्रिल महिनामा कारागार पठाइएको थियो ।

शक्तिदुरुपयोग गरेको र अरूलाई दबाव दिएको अभियोगमा पार्कलाई ३३ वर्षको जेल सजाय सुनाइएको थियो ।
पार्कलाई सिओलको पुनरावेदन अदालतले लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेका साथी चोई सुन–सिलको प्रभावमा परी भ्रष्टाचार गरेको अभियोगमा उक्त जेल सजाय तोकेको थियो ।

उनविरुद्ध ठूला विरोधका कार्यक्रमपछि महाभियोग लगाई पदमुक्त गरिएको थियो । यसरी पदमुक्त हुने उनी प्रथम निर्वाचित राष्ट्रपति थिए ।

प्रतिक्रिया दिनुहोस्