१९ असोज, कञ्चनपुर– भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सा पास गर्न सुरु गरिएको छ । उक्त नगरपालिकाको तेस्रो नगरसभाले उक्त निर्णय गरेको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ बमोजिम भवन संहिता लागू हुनुपूर्व प्रक्रिया पुर्याएर निर्माण गरिएका सबै भवनको नक्सा पास गर्न थालिएको हो ।
उक्त परिच्छेदमा भवन निर्माण तथा सडक सम्बन्धी व्यवस्था अन्तर्गत स्थानीय तहबाट नक्सा पास नगरी भवन निर्माण गर्न नपाइने प्रावधन छ । नगरपालिका वा गाउँपालिकाकाले तोकेको क्षेत्रमा भने नक्सा पास नगराई भवन निर्माण गर्न सकिने व्यवस्था छ ।
नगर प्रमुख सुरेन्द्र विष्टले राष्ट्रिय भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयनका लागि तेस्रो नगरसभाबाट उक्त संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सा पास गरिने निर्णय भएको जानकारी दिए । गत भदौ १ गतेदेखि सुरु गरिएको नक्सापास ६ महिनासम्म जारी रहनेछ ।
नगरपालिकाका वडा कार्यालयले पनि नगरसभाको निर्णय बमोजिम पुराना भवनको नक्सा पास गराउन सार्वजनिक सूचना गरिसकेको छ । वडा नं २ का अध्यक्ष डम्मरसिंह कार्कीले नगरसभाको निर्णय अनुसार नक्सापास गराउन सार्वजनिक सूचना जारी गरिएको बताए ।
उक्त नगरपालिकाले हालसम्म ७ हजार ५ सय भवनको नक्सापास गरिसकेको छ । नगरपालिका क्षेत्रमा २२ हजारभन्दा बढी घरधुरी छन् । नक्सा पास नगरी निर्माण गरिएका भवनको संख्या अधिक भएपछि नगर प्रमुख विष्टले चालु आवमा भने भवन संहिता कार्यान्वयनलाई प्राथमिकता दिएका छन्।
गत आर्थिक वर्षमा नगरपालिका कार्यालयमा ३ सय ८२ भवनका नक्सा दर्ता भएकामा २ सय ७५ को पास गरिएको थियो ।