Logo

२ अमेरिकी र १ बेलायतीलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार



Spread the love

१७ असोज, स्टकहोम – सन् २०१८ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ ।

विश्व चर्चित र प्रतिष्ठित यो नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा २ जना अमेरिकी र १ जना बेलायती नागरिक रहेका छन् ।

‘द रोयल स्वीडिस् एकेडेमी अफ साइन्सले बुधबार ती ३ व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा भएको जानकारी दिएको छ ।

सो पुरस्कार प्राप्त गर्नेमा अमेरिकी वैज्ञानिक फ्रान्सिस् अर्नोल्ड र जर्ज स्मिथ छन् । त्यसैगरी बेलायती अनुसन्धानकर्ता ग्रेगरी विन्टर रहेका छन् ।

जैविक इन्धनदेखि औषधिसम्मका हरेक वस्तुको निर्माणमा प्रयोग हुने प्रोटिनको विकास गर्ने उत्पत्तिको सिद्धान्त प्रतिपादन गरेकोमा उनिहरूलाई यो पुरस्कार दिइने भएको हो । उनिहरूले ‘डिरेक्टिड इभ्युलुशन’ नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिन बनाएका थिए ।

यस विधिबाट उत्पादित एन्टिबडी सन् २००२ मै औषधीय प्रयोगका लागि स्वीकृत भएको थियो । बाथ, सराइअसिस भनिने चर्मरोग र पेटमा हुने विभिन्न रोगको उपचारमा त्यसको प्रयोग हुने गरेको छ ।

पुरस्कार पाउनेमध्ये अर्नोल्डले ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलर पुरस्कार राशिको आधा भाग पाउनेछन् भने स्मिथ र विन्टरले बाँकी रकमको आधा आधा पाउनेछन् ।

यसअघि गत सोमबार चिकित्साशास्त्र विधातर्फको नोबल पुरस्कारको घोषणा भएको थियो भने पर्सि शुक्रबार शान्तितर्फ र आगामी सोमबार अर्थशास्त्र तर्फका विजेताको नाम घोषणा गरिनेछ ।

यस वर्ष साहित्य विधाको नोबल पुरस्कार विजेताको नाम भने घोषणा नगरिने भएको छ । त्यो पुरस्कार अर्को वर्ष सन् २०१८ र २०१९ का विजेताको घोषणा एकैचोटि गर्ने निर्णय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्