१४ साउन, काठमाडाैं – पल्सर सहिद स्मारक ए डिभिजन लिगको दास्रो दिन आइतबार सिएमजी क्लब संकटा क्लबलार्इ भाग्यले ठूलो साथ दिएको छ ।
खेलको इन्जुरी समयमा लछमन रुचालले गोल गरेपछि संकटाले सरस्वती युथ क्लबलार्इ १-० ले हराएको हो ।
सातदोबाटोस्थित एन्फाको एस्ट्रो टर्फमा भएको खेलमा दुवै टोलीले गोलको प्रयास गरेपनि सफल हुनलार्इ थप समय कुर्नु परेको थियो ।
झन्डै पाँच वर्षपछि शनिबार सुरु भएको ए डिभिजन लिगको पहिलो दिन एनआरटी क्लब र त्रिभुवन आर्मी क्लबले खेल २–२ को बराबरीमा टुंगाएका थिए । यद्दपी पहिलो खेलको अन्त्यतिर रेफ्री सुदिश पाण्डेको निर्णय विवादित बनेको थियो ।
२–१ ले एनआरटी अघि रहेको अवस्थामा टोलीका गोलकिपर अजित प्रजापतिले बढी समय बल होल्ड गरेको भन्दै रेफ्री पाण्डेले त्यसमा आर्मीलाई पेनाल्टी बक्सबाट इनडाइरेक्ट फ्रिकिकको अवसर दिए । त्यसमा आर्मीले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो । त्यो विषयमा एनआरटीका पदाधिकारी नै विवादमा उत्रेका थिए ।
राष्ट्रिय टोली बंगबन्धु गोल्ड कपका लागि आइतबार बंगलादेश प्रस्थान गरेकोले ए डिभिजन लिग केहि दिनका लागि स्थगित हुने एन्फाले यसअघि नै जनाइसकेको छ ।