१० असोज, चीन – मालदिभ्सका प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपतिको निर्वाचनमा ५८ प्रतिशत मतसहित विजय भएकोमा चीनले उहाँलाई बधाई दिँदै आगामी दिनमा बेइजिङले मालेसँगको सहकार्यलाई थप सुमधुर बनाउने बताएको छ ।
निर्वाचनमा चीनको निकट मानिने अब्दुल्लाह यमीन भारी मतका साथ पराजीत हुनुभएको थियो ।
प्रमुख प्रतिपक्षी दलको गठबन्धनमा निर्वाचन लडेका सोलिहले यमीनमाथि अप्रत्यासित रूपमा विजय चुम्न सफल हुनुभएको थियो । यमीनको कार्यकालमा चीन–मालदिभ्सबीचको सम्बन्धमा निकटता देखिएको र सोही समय चीनले मालदिभ्सको भौतिक पूर्वाधार निर्माणमा ठूलो राशी ऋण लगानी दिएको थियो ।
यमीन सरकारलाई विमानस्थलदेखि राजधानी माले जोड्ने चाइना–मालदिभ्स फ्रेन्डसिप ब्रिज लगायतका आयोजना निर्माणका लागि दशौँ लाख अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो । पुल गत अगस्टदेखि सञ्चालनमा आएको छ ।
चीनले मालदिभ्सलाई दिएको ऋणले लामो समयदेखि माल्दिभ्सको पक्षमा सहयोग गर्दै आएका भारत तथा पश्चिमा मुलुकहरूलाई चिन्तित तुल्याएको थियो । पूर्व–पश्चिम व्यापार मार्गमार्फत टापूहरूको देश मालदिभ्समा चीनको प्रभाब बढ्न थालेपछि उनीहरूले मालदिभ्सप्रति सम्वेदनशील बनेका थिए ।
चीनका विदेश मन्त्रालयका गेङ सुवाङले भन्नुभयो, “हामीले माल्दिभ्ससँगको हाम्रो परम्परादेखिको मित्रतालाई थप बलियो बनाउन सहकार्यलाई निरन्तरता दिन चाहन्छौँ साथै यसबाट दुबै देश र यहाँका जनताले लाभ लिने विश्वास चीनको छ ।”
सञ्चारकर्मीसँगको नियमित भेटघाटमा उहाँले भन्नुभयो, “चिनियाँ व्यवसायिक लगानी भित्राउने वातावरण मालदिभ्सले बनाउने सम्वन्धमा नीतिगत स्थायित्व कायम गर्नेमा चीन विश्वस्त छ ।”
यमीनले आफ्नो कार्यकाल यही नोभेम्बर १७ मा सकिने र त्यसपछि स्वभाविक तथा औपचारिक सत्ता हस्तान्तरण हुने बताउनुभएको छ ।