रोक्का राखिएको यातायात समितिको बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
असोज ५ गते यातायात व्यवसायीले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्नुअघि रोक्का रहेका खाता खोलिने भनी भइरहेको चर्चा सत्य नभएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले स्पष्ट परेका हुन ।
![](https://i0.wp.com/kantipurtechbackupsystem.sgp1.digitaloceanspaces.com/IMG/sallerikhabar/2018/08/yatayat-majdur.jpg?resize=800%2C480&ssl=1)
उनले भने, ‘नवीकरण नै नभएका समितिको नाममा रोक्का अवस्थामा रहेका खाता खुलाउन सकिँदैन, समिति कम्पनीमा गएको प्रमाण लिएर आए खाता खोल्न प्रक्रिया अघि बढाइन्छ, प्रधानमन्त्रीले पनि कम्पनीमा गएकाको खाता खोल्न निर्देशन दिनुभएको छ ।’
संस्था दर्ता ऐन अनुसार सामाजिक काम गर्ने उद्देश्यले समिति खोलेर व्यापार गरेको भन्दै विभागले गत चैत १८ गते नयाँ निर्देशिका जारी गरी नवीकरण नगर्ने सार्वजनिक गरेको थियो । समितिलाई पुस मसान्तसम्म कम्पनी दर्ता भइसक्न विभागले अवधि तोकेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने समितिको खाता नखोले अग्रिम टिकट बुकिङ गर्न नसकिने बताउँछन् ।
‘खाता सञ्चालन गर्न नदिए पैसा कहाँ राख्ने ? यसैले खाता नखुलेसम्म टिकट खोल्न सकिँदैन, पेट्रोलियम पदार्थको भाउ पटक–पटक बढे पनि भाडा समायोजन हुनसकेको छैन, भाडा समायोजन गर्न पनि सरकारलाई अनुरोध गरेका छौं’,उनले भने ।
महासंघमा ३०७ समिति आबद्ध थिए । त्यसमध्ये २४५ समितिको बैंकमा खाता रहेकाले रोक्का भएको र ६२ को खाता सहकारी एवं वित्तीय संस्थामा रहेकाले सञ्चालनमै रहेको यातायात क्षेत्रको सुधारमा लागेका रामबहादुर थापाले बताए । पाँच महिनासम्म पनि समिति कम्पनीमा दर्ता नगरी राजस्व छल्न खोजेको र राज्यलाई कमजोर बनाउन लागेको उनको आरोप छ ।
यो पनि पढ्नुहोस् :पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए दसैंको अग्रिम टिकट नखुल्ने