काठमाडौँ- मोरङको विराटनगर स्थित नोबेल मेडिकल कलेजमा एम.बि.बि.एस. अध्ययनरत सौरभ उप्रेतीको मृत्यु आत्महत्या नभएर हत्या भएको आफन्तले दाबी गरेका छन ।
रिपोर्टर्स क्लबमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर प्रहरीले नै अपराधीहरूलाई उन्मुक्ति दिएको र प्रमाणहरू नष्ट गरेको भन्दै सडक आन्दोलनको घोषणा समेत गरेको छ।
मृतकका बुबा अर्जुन उप्रेतीले छोराको हत्यामा संलग्न अपराधीलाई कानुन अनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाए ।
मृतक उप्रेतीकी आमा गोपिनी सापकोटाले एकमात्र छोराका हत्यारालाई सरकारले कारबाही नगरेको भन्दै आपत्ती प्रकट गरिन्। उनले भनिन्, ‘मेरो छोरा अरूभन्दा विरलै क्षमता भएको छोरो थियो, बालापन देखि नै उसको क्षमता देखेर यसलाई धेरै समय धर्तीमा बाँच्न दिँदैनन् भन्ने लाग्दथ्यो। दुई तिहाईको सरकारसँग न्याय दिने क्षमता छैन, पीडितहरूले आँसु झार्दै बस्नुपर्छ, हाम्रो आँसुले अपराधीलाई पोल्नेछ, एक दिन कानुनको भागीदार हुनेछ।’
साउन १५ गते राती हत्या गरिएको आरोप लगाउँदै उप्रेतीका मामाका छोरा श्याम सापकोटाले उक्त घट्नाका प्रमाणहरू प्रहरीले नै नष्ट गरेको आरोप लगाए। उनले शक्तिशाली अनुसन्धान आयोग गठन गर्न सरकारसँग माग गरे। उनले भने, ‘मोरङ एसपी मनोज केसीसहितको टोलीले यस घट्नालाई गम्भीर भएर लिएको पाइँदैन, ४८ दिनसम्म पनि हामीले न्याय नपाउने र दोषी खुलेआम हिँड्ने हो भने यस देशमा कसरी न्याय सम्प्रभुताको अनुभव गर्ने?’
मृतक उप्रेतीकी बहिनी सोनु उप्रेतीले मुलुकमा न्यायको दियो निभ्न थालेको भन्दै सरकारलाई सचेत हुन आग्रह गरिन्। उनले भनिन्, ‘मेरो दाइको हत्या नै भएको हो, उसले आत्महत्या गरेको होइन। रहस्यमय हत्यालाई प्रहरीले प्रमाणहरू नष्ट गरेर काल्पनिक रूपमा आत्महत्या गरेको भनेर भन्छ, प्रहरीले जाहेरी लिँदैन, हामीले यस सरकारबाट न्याय पाउँदैनौँ भने हामी कहाँ जाने?’
गत साउन १६ गते सौरभ सुतेको स्थानमा नै मृत अवस्थामा फेला परेका थिए।