गृहमन्त्री रामबहादुर थापाले किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमा दुर्गादेवी र बुबा यज्ञराज पन्तले गृहमन्त्री रामबहादुर थापालाई भेटेर न्यायको माग गरेका छन्।उनीहरूले शुक्रबार गृहमन्त्रालय पुगेर मन्त्री थापा ‘बादल’लाई भेटेका हुन्। निर्मलाका आमाबुबाको पत्र बुझ्दै मन्त्री थापाले १३ वर्षीया निर्मलाको बलात्कार र हत्यामा संलग्न दोषीको पहिचान प्रहरीले गर्न नसक्दा आफू असन्तुष्ट रहेको बताएका छन्।
बलात्कारपछि हत्या गरिएकी निर्मलाका पीडित परिवारले लामो समयसम्म पनि न्याय नपाएपछि पीडित परिवार र कञ्चनपुरका अधिकारकर्मीहरु न्यायको खोजीमा काठमाडौं आइपुगेका छन । उनीहरुले हत्यारालाई सार्वजनिक गरी कडा कारबाही नगरेसम्म काठमाडौंबाट नफर्कने चेतावनी पनि सरकारलाई दिएका छन् ।