अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेकोे सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७ स्थायी घर भएका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डुटुप लामा र सोही ठाउँका २८ वर्षीय लोप्चन तेन्वे रहेका छन् । गत शनिबार जिल्लाको तिब्बतसँग जोडिएको उत्तरी क्षेत्र सिर्दिबासको फिलिमस्थित प्रहरीको चोकपोस्ट अगाडि जाँचका क्रममा अवैध सुनसहित उनीहरु पक्राउ परेका थिए ।
ऊनीको गलबन्दीभित्र पाँच किलो सुनराखी बाहिरबाट सिलाइ कम्मरमा पेटी जस्तो बनाई ल्याएको अवस्थामा प्रहरीले लामालाई पक्राउ गरेको हो । लामाको साथबाट थप कानमा लगाउने कन्दरा सात तोला बराबरको दुई थान, टप एक तोला बराबरको दुई थान बरामद भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिनुभयो ।
पक्राउ परेका तेन्वेले भने पछाडि बोक्ने रातो रङको झोलामा राखेर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो । तिब्बतको जोङ्ग भन्ने स्थानबाट चिनजानका च्याङ्चीन भन्ने चिनियाँ नागरिकले काठमाडाँै पुर्याइदिनु भनी सुन पठाएको अभियुक्तले बताएको प्रहरीको भनाइ छ ।
“अभियुक्त दुई जनाको फोन नम्बर राखी काठमाडौँ जानु त्यहाँ पुगेपछि फोन गर्ने व्यक्तिलाई दिनु भनेर सुन बोकाएर पठाएको पाइयो”, प्रहरी प्रमुख बस्नेतले भन्नुभयो, “निजहरुलाई सुन पुर्याएबापत रु ५० हजार दिने सहमति रहेको बुझियो ।” उनीहरुले चुमनुव्री गाउँपालिका वडा नं ७ को सिर्दिबासस्थित स्यात्ला नाकाबाट हुँदै तिब्बतबाट अवैध सुन भित्र्याएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
गोरखाको चुमनुव्री गाउँपालिकामा सडक सञ्जाल नजोडिएकाले हवाइमार्ग हुँदै आवातजावत गर्नुपर्ने भएपछि सो क्षेत्र हुँदै तस्करी बढेको आशङ्कामा जिल्ला प्रशासन कार्यालयले केही दिनअघिदेखि कडाइ गरेको थियो । प्रशासनको निर्णयअनुसार उत्तरी क्षेत्रमा उडान भर्ने सबै हेलिकप्टरमा अनिवार्य जाँच गर्न थालिएपछि सडकमार्ग हुँदै तस्करी शुरु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । रासस