चिनीया राष्ट्रपति सी जिनपिङ अर्को साता रसियामा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुनुहुने चिनीया विदेश मन्त्रालयले जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता कीमलाई रुसको भ्लाडिभोस्टकमा आयोजना हुने पूर्वी आर्थिक मञ्चमा सहभागी हुन आमन्त्रण गर्नुभएको छ । सम्मेलन यही सेप्टेम्बर ११–१३ मा हुँदैछ ।
कीमले भने सहभागिताका बारेमा घोषणा गर्नुभएको छैन, तर उहाँको सहभागिताले अन्तर्राष्ट्रिय जगतमा प्योङयाङको उपस्थिति बलियो हुनेछ ।
चिनीया अधिकारीहरुले सम्मेलनका क्रममा राष्ट्रपति सी जिनपिङले अरु नेताहरुसँग अलगअलग भेटघाट गर्ने नगर्ने स्पष्ट भइनसकेको बताए ।
चीनका विदेश सहायक मन्त्री झाङ हानहुइले अरु मुलुकबाट भेटघाटको प्रस्ताव आए त्यसलाई सकारात्मक लिइने संवाददाताहरुलाई बताउनुभयो । यसै वर्ष उत्तर कोरियाली नेता कीमसँग राष्ट्रपति सीले तीन पटक भेट गर्नुभएको छ ।
राष्ट्रपति सीले चिनीया वरिष्ट सांसद ली झान्सुलाई यही साता उत्तर कोरियाको ७०औं वार्षिकोत्सवमा सहभागी हुन प्योङयाङ पठाउनुभएको छ । यो वार्षिकोत्सवमा चिनीया राष्ट्रपति सहभागी हुने धेरैले अनुमान लगाएका थिए ।
उत्तर कोरियाका सन्दर्भमा “रोलर–कोस्टर कुटनीति” अवलम्बन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मात्र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी वार्ता जीवितै रहेको सङ्केत गर्नुभएको छ ।
राष्ट्रपति सी भ्लाडिभोस्टकमा मङ्गलबार र बुधबार रहनुहुनेछ । रसियाले आयोजना गरेको वार्षिक आर्थिक मञ्चको बैठकमा चिनीया नेताको यो पहिलो सहभागिता हो ।
बैठकमा चीन र जापानबीच सन् २०१२ देखि बिग्रिएको सम्बन्धमा केही सुधार आएको छ । हालैका महिनाहरुमा दुबै पक्षबीच उच्चस्तरको भ्रमण हुनेक्रम सुरु भएको छ । रासस/एएफपी