बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गरेको छ ।
उपमहानगरपालिकाका विभिन्न वडामा पाँच हजार मिटर सडक पक्की तथा मर्मतका साथै ठूला मझौला र साना गरी ४६० भन्दा बढी नाला, कल्भर्टमा ह्युमपाइप जडान गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
करिव रु ५० लाख सरकारी अनुदानमा सडक पक्की गरिनुका साथै २७ पुल तथा कल्र्भट निर्माण तथा मर्मत र करीब ९७ ह्युमपाइप विस्तार गरिएको उनले बताए ।
विद्युत विस्तार
बुटवल उपमहानगरपालिकाभित्र उज्यालो शहर अभियानअन्तर्गत विद्युत प्राधिकरण कार्यालयको सहकार्यमा सेमलार मोतीपुर, तामनगर, नयाँगाउँलगायतमा करीब चार हजार मिटर विद्युत लाइन विस्तार गरी आठवटा ट्रान्सफर्मर जडान गरिएको छ ।
यसैगरी उज्यालो शहर अभियानअन्तर्गत नगरका विभिन्न स्थानमा १५६ थान सौर्य सडक बत्ती जडान गर्नुका साथै ५५ वटा सौर्य बत्ती मर्मत गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए ।
सार्वजनिक तथा निजी साझेदारीमा राजमार्गका विभिन्न नौ स्थानमा सौर्य बत्तीसहितको यात्रु प्रतिक्षालय निर्माण, छ ट्राफिक आइल्याण्ड स्थापना र राजमार्ग चौराहदेखि पुष्पलाल पार्क हुँदै तिनाउ पुलसम्मको सडक खण्डमा करीब १०० थान सौर्य बस्ती जडान गरिएको छ । रासस