एक वर्षदेखि दिक्तेल बजारमा कोठा भाडामा लिएर एक्लै बसोबास गर्दै आएकी जुरीमायाँ राई बल्ल अहिले आएर किताब लेखपढ गर्नसक्ने भएकी छन् ।
केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ७५ वर्षीया उनी अहिले स्थानीय सरस्वती माविको एक कक्षामा बाह्रखरी र अङ्कहरु सिक्दै छिन् ।
विसं २००१ साउन ८मा जन्मीएकी उनी गत साउन ६ गते दिक्तेलस्थित सरस्वती माविको कक्षा–१ मा भर्ना भएर अध्ययन गरिरहेकी छन् । उनको रोल नं ३१ रहेको विद्यालयले जनाएको छ ।
पढाइप्रति निक्कै इच्छुक देखिने जुरीमायाँ नबुझेको कुरा आफैँले पढेर बुझ्न सक्ने हुनाका लागि विद्यालयको नियमित विद्यार्थीका रुपमा बिहान १० देखि बेलुकी ३ः२० सम्म कक्षाभित्रै बस्छिन् ।
तीन वर्षअघि उनको श्रीमानको मृत्यु भएको थियो । श्रीमान् पूर्व बेलायती सेना थिए । विगतमा पढ्ने र पढाउने कुरै नभए पनि श्रीमान्सँग पल्टन (मरक्का)मा रहँदा पढ्न शुरु गरेपनि त्यहाँ बसेको एक महीना बित्न नपाउँदै हङकङ सर्नु परेका कारण जुरीमायाँको पढ्ने चाहना अधुरै भएको थियो । सोही चाहना पूरा गर्न उनी अहिले कक्षा १ को विद्यार्थी बनेकी हुन् । आफ्नोबाट सन्तान नभएपछि कान्छी श्रीमतीका रुपमा उनका श्रीमानले अर्को विवाह गरेका थिए ।
कान्छीतर्फबाट जन्मेका चार छोरी र दुई छोराले पनि राम्रो नपढेकामा जुरीमायाँको ठूलो गुनासो छ । श्रीमानको मृत्युपछि उनको पेन्सन जेठी–कान्छी दुबैले आधा–आधा थाप्ने गरेका छन् । नाति–नातिनीले धेरै पढेको हेर्न चाहने जुरीमायाँ कलिला बालबच्चासँगै बसेर सिक्न पाउँदा खुशी लागेको बताउँछिन् । शिक्षकहरुसँग कुनै अप्ठ्यारो नमान्ने उनी कक्षा कोठातिर देखाउँदै भन्छिन्, “मलाई त यहाँ आनन्द छ, एकदमै खुशी छु ।”
अहिले विद्यालय जान थालेको महीना दिनमै जुरीमायाँले अङ्क जोड्न, अक्षर पढ्न र सार्न सक्ने भइसकेकी छन् । कोठामा एक्लै बस्नुहुने उनी बिहान बेलुकी खाना पकाउने, खाने अनि बाँकी रहेको समयमा लेख–पढमा बिताउँछिन् । “अलिअलि त पढ्न सक्छु जस्तो लाग्दैछ,” हाँस्दै उनले भनिन् । एक महिनाको अवधिमा अध्ययनमा जुरीमायाँको निक्कै प्रगति भएको शिक्षक नुरकाजी सैँजु बताउँछन् । रासस