४ दिन देखि वेपत्ता बनेका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष तथा रेडियो बुढीनन्दा बाजुरामा कार्यरत पत्रकार तेज बहादुर खड्काको खोजीकार्य गर्न प्रेश युनियनले सरकारसँग माग गरेको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्वर -१ तिखा निवासी खड्काको खोजविनका लागि स्थानीय प्रशासनलाई नेपाल प्रेस युनियन वाजुराले आग्रहगरेपछि नेपाल प्रहरीको टोली खोजविनका लागि खटिएपनि खड्काको अवस्थाबारे पत्ता लाग्न सकेको छैन ।
त्यस्तै खड्काको खोजीको लागी नेपाली सेनाले पनि एक टोली पठाएको जनाइएको छ । प्रेश युनियनका महासविचव अजयबाबु सिवाकोटीले बिहीबार विज्ञप्ति जारी गर्दै खड्काको शिघ्र उद्धारका लागि स्थलगत र हवाईमार्फत खोजी गर्न सरकार र नेपाली सेनासँग आग्रह गरेका छन् ।
खड्का भदौ १० गते जनै पूर्णिमाको अवसरमा बाजुराको बुढीनन्दामा लाग्ने मेलाबाट फर्कने क्रममा सम्पर्कविहिन भएका थिए ।