नेपाली समाजको लागि बालविवाह कुनै नयाँ प्रसङ्ग होइन । कानुनी रुपले धेरै अघि हटे पनि समाजमा अझैं यसका छुटपुट अवशेषहरू स्पष्टै देख्न सकिन्छ । बालविवाहले निम्त्याएको एक बिकराल समस्या हो,’बालविधुवा जिन्दगी’ । र, यहीँ कष्टकर जिन्दगीको कथा हो, ‘आमोई’ ।
२४ वर्षे लामो शिक्षण पेशाबाट साहित्य लेखनमा छिरेका भुवनहरि सिग्देल, ‘आमोई’ उपन्यास मार्फत आफ्नै घरकी दुखी हजुरआमाको कथा बताउँछन् । उनले यस उपन्यासलाई साहित्य सृजना भन्दा बढी आमोईको पैत्रिक ऋणको रूपमा स्वीकार्न पाठक सामु आह्वान गरेका छन् ।
आमोई अर्थात रोमकुमारी सिग्देल । जसको बिहे करिब ९ वर्ष मै छिमेकी गाउँका एक युवक सँग गराइन्छ । को-कस्तो-कहाँको केही थाहा नपाएरै उनको बिहे सम्पन्न हुन्छ । हुन त बिहेको अर्थ नै राम्ररी नबुझेकी उनलाई यी सब कुरा बुझ्नु, महाभारत बुझ्नु बराबर थियो । यसरी बिहे भएको ३ वर्ष मै उनी विधवा हुन पुग्छिन् । यहीँ नै उनको जिन्दगीको पहिलो तरङ्ग बन्न पुग्छ । तर उनलाई के थाहा एकल हुनुको अर्थ ! जब कि उनी त त्यतिन्जेल सम्म पनि मृत्युको अर्थ बारे नै बिल्कुल अन्जान थिइन् । तर, जब उनी आफ्नो स्थितिबारे जानकार हुन्छिन्, तब बल्ल सुरु हुन्छ, आमोईको जीवन संघर्षको कथा ।
बाढी आउँछ, दु:ख बेसाउछ । पहिरो खस्छ, पीडा थुपार्छ । भुइचालो आउँछ, जिन्दगी डगमगाउँछ । अनि रोग आउँछ, परिवार सखाप बनाउँछ । तर, पनि उनको साहस डगमगाउँदैन । दु:ख-पीडाका थुप्राहरुलाई निरन्तर उनी बेल्चा लाउँदै समथर पार्दै जान्छिन् । संघर्षको प्रेरणा त कोहि यी आमोईबाट सिकोस् ।
जिन्दगीको दौरान, कुल वंश जोगाउनैका निम्ति उनी आफ्नी किशोर बहिनीको बिहे बयोबृद्ध जेठाजु सँग गराउनमा पनि पछि हट्दिनन् । उनका यी यस्तै साहसी कदमहरूले समाजमा उनलाई निकै आदर्श तुल्याएका छन् । समयले दिएका ठक्करहरू सँगै एक नादान कसरी महान बन्न पुग्छ भन्ने तथ्यको ज्वलन्त उदाहरण हुन्, आमोई ।
‘मदन पुरस्कार २०७३’ को उत्कृष्ट ७ कृतिहरूको सुचीमा पर्न सफल यस उपन्यास मार्फत लेखकले आमोईलाई एक सशक्त नारी चरित्रको रुपमा नेपाली साहित्य आकाशमा प्रक्षेपण गरेका छन् । उपन्यासमा आमोई मात्र नभइ उनकै बहिनी सान्नानी, न्याउरी जस्ता महिला व्यक्तित्वलाई पनि समाजका आदर्श नारीको रुपमा स्थापना गरिएको छ ।
लेखकले करिब ८ दशक अघिको कथा बताउँदै गर्दा अहिले पनि हाम्रो समाज यस्तै नियती र दुर्नियतीको बन्धनबाट पुर्ण मुक्त हुन नसकिरहेको स्थिती हामी सामु स्पष्ट छ । होला बालविवाह अन्त्य हुन थालेको होला । हुन सक्छ बालविधवा हुने क्रम अन्त्य हुँदै गरेको हुन सक्छ । तर अझै पनि एकल महिला माथी समाजले फ्याँक्ने नजर उस्तै उस्तै छ । अझै पनि उनीहरू माथी पर्ने बज्रपातहरू उस्तै उस्तै छन् । र, अझै पनि प्रकोपहरूले गरिब दुखीहरूकै जिन्दगी सखाप पारीरहेकै छन् । त्यसैले यो कथा ती सम्पुर्ण आमोईहरूको हो, जो हिजोका दिनमा पिल्सिएर गएँ, आजका दिनमा अलिकती भएनी खुल्ला सास फेर्न खोज्दैछन् र चाहन्छन् भोलिका दिनमा बस् खुलस्त बाच्न पनि पाइयोस् ।
आत्मकथा भनिए पनि ‘आमोई’ आख्यानात्मक शैलीमा हुबहु उपन्यास जसरी नै प्रस्तुत गरिएको छ । वास्तविक कहानी भएकोले आवश्यक अनावश्यक पात्रहरू थुप्रो राखिनाले कतिपय ठाउँमा उपन्यास केही गोलमोल हुन पुगेको जस्तो देखिन्छ । भाषा शैली नयाँ परिष्कृत नहुनाले उपन्यास जति रसिलो हुनु पर्ने हो त्यति हुन बाट चुकेको महसुस सहजै हुन्छ । दोश्रो संस्करण सम्म आइपुग्दा पनि उपन्यासको सम्पादन राम्रोसँग नगरिएका ठाउँहरू देखिनुले पुस्तकको ओजमा अलि ह्रास आएको महसुस हुन सक्छ । अनि, कतिपय कथावस्तुहरू यस अघि अन्य पुस्तकहरू मार्फत नै आइसकेको हुनाले पनि पुस्तक सोचेजती ताजा नलाग्न सक्छ ।
उल्लेखित केही कमी-कमजोरीहरू छोडेर ‘आमोई’ नेपाली साहित्यको एक प्रेरणादायी पठनीय पुस्तकको रुपमा लिन सकिन्छ । एउटै पुस्तकमा करिब ८ दशकको कथा प्रस्तुत गरिएको हुनाले तत्कालीन समय बारे जान्न चाहनेहरूका लागि पनि उपन्यास निकै लाभदायी हुन सक्छ ।
‘आमोई’को ओजबारे प्रष्ट पार्दै समिक्षक शेखरमणि नेपाल लेख्छन्,”यो दशककै सर्वोत्कृष्ट आख्यान हो आमोई ।”
यस अर्थमा पनि ‘आमोई’ नेपाली साहित्य पारखीहरूले पढ्नै पर्ने उपन्यास हो भन्दा फरक नपर्ला !!!
आमोई
लेखक : भुवनहरि सिग्देल
प्रकाशक : शिखा बुक्स
पृष्ठ : २८०
मूल्य : रू ३५० /-
०००
०००