- हरिवंश तिमल्सिना
सायद होलिन् उनी अनभिज्ञ,
कि उनी नै मेरी उनी हुन् ।
म जस्ता कैयन् बैरागी `ऊ´हरु
पाल्दै होलान आशाका मुनाहरु
मझेरीमा, पधेरीमा, अधेरीमा
बटुलेका धमिला सपनाहरुका किरण
चहकिएर बन्नेछन् चन्द्रमा एकदिन,
सायद
दिनेछन् शितलताको न्यानो स्पर्श,
रापिलो सुरजका अघि पनि
पलाउने छन् प्रेमका ओसहरु,
दमित हुनेछन् रापिला रोशहरु ।
फुटाएर मूल आशाका, चाहनाका, बाहानाका ।
उर्लने छन बाढीका लहरहरु
अनि बगाउने छन् भ्रमित बासनाका स्रोतहरु ।
झरनाका लहरा समाउदै
माथी चढ्ने रहर हुँदै पनि
रोजिएका मार्गबिहिन पहराका बाटाहरु
उदासिएका मनमा छाएका मुस्कानका पाटाहरु
धमिलिएका यादसङ्गै बसेका टाटा
र,
कालकोठरीमा पुग्दा आहलिएका खाटाहरु
एकैसाथ उर्लदा,
पावर प्वाइन्ट्मा तैयार स्लाइड जसरी
अतासिएका, बतासिएका, हतासिएका
मनमा उद्वेलित छालहरुसङ्गै देखिएका तस्विरमध्य
ब्रह्माण्ड सर्जक भगवान,
जिन्दगी सर्जक मातापिता
अनि,
मनमा टुसाएका प्रेम सर्जक उनी
बनेका थिए क्यारे, मनरुपी औशीको
कालरात्रीमा जुनकिरीको किरण ।
जिन्दगी डोर्याउने असीमित कारण ।
यिनै भावनामा डुबुल्की मारेका
मेरो कविताको
शिर्षक के दिउँ र ??
ooo
ooo