पूर्ण भण्डारी पङ्कज
प्यारो भाइ रुपेश,
न्यानो माया एवम् प्यार ।
आज धेरै दिनपछि तिमीलाई पत्र लेख्दै छु । पत्र त लेख्न बसीहाले तर भावहरुलाई कसरी संयोजन गर्ने ? म आफै किकर्तव्यविमूढ छु । जे होस् एउटा एकान्तप्रदेश (जसलाई अर्को संसार भन्दा पनि कुनै आपत्ति पर्दैन) मा बसेको दाजुको हैसियतले एकान्त कोठामा एकाग्र भएर एक अंश लेख्न बसेको मात्रै हुँ ।
भाइ रुपेश,
तिमी सञ्चार मिडियामा बसेको मान्छे । गत जेठ १३ गते रातीको माओवादी र सेनाका वीच भएको घटना वृत्तको सूचना त्यसै रात÷विहान थाहा पायौ होला । सायद सोमबार साँझ पलङमा पल्टेर टि.भी.मा मान्छेका लाशहरु हेरेहौला ।
हुन सक्छ, त्यतिखेर मलाई पनि सम्झे हौला कतै बाटोमा दाइपनि पर्नु भो कि भनेर । हो, विल्कुल अड्कल ठीक हो भाइ, भाग्यको करामत भनुँ कि समयले ल्याएको चक्रपात हो ? त्यसैदिन मात्र म घरबाट आएको थिएँ ।
मेरो योजना झुल्नेटा बस्ने थियो त्यसरात । तर सम्बन्धित मान्छे नभेटिएकाले मात्रै म खलंगातिर हिडेको नत्र भने मलाई पनि टि.भी.को पर्दामा झिंगा भन्केको देख्थ्यौ भाइ । जब आक्रमणको खवर सुने मेरो मुटुले ठाउँ नै छोड्यो, सम्झें मेरो हालत के हुन्थ्यो ?
अलिकति प्रसङ्ग आक्रमणका बारेमा पनि कोट्याँऊ कि ? अघिल्लो दिन मेजर (झपट) सापसँग कुरा चलेको थियो । उहाँको विचार थियो, हामी पनि निशानामा परेका छौं, तर डर छैन तयारीमा पनि छौं । त्यस रात, खै किन र कसरी हो मेरो निन्द्रा १:३० बजे नै खुल्यो । आकाशमा हेलिकप्टर उडिरहेको आवाज सुनेँ । पहिले त अर्धनिन्द्रामा उज्यालो भो भन्ठाने भने पछि निन्द्रा खुलेपछि दोहोरो भिडन्त भएको सङ्केत पाएँ ।
त्यसमा पनि खलंगाको माथिमाथि उडेकाले कतै खलंगा नै आक्रमण भएको त हैन ? भन्ने सन्त्रास उत्पन्न भयो । त्यो त स्थान पत्ता नलागेर मात्रै रहेछ । पत्ता लगाएपछि युद्ध भूमि मै गएर बम वार्निङ गर्न थाल्यो ।
त्यस घटनाकाबारे अघिल्लो साँझ ५ बजेतिर रुँघाको माथिमाथि आक्रमण टोली आइपुगेको सामान्य झलक पाइन्थ्यो भने सुरक्षाकर्मीले विश्वास भने गरेन । उक्त टोली साँझको आर्मी क्याम्प हान्न भनेर आएको थियो रे । पूर्वसूचना पाएपछि सेना त्यहाँबाट क्याम्प छोडेर बोहरा गाउँमा आएपछि माओवादीहरु भन्दै थिए रे – हाम्रो ५ लाखको योजना विफल भयो, खर्च चौपट्टै भयो । सायद त्यही रकमको सदुपयोग गर्न सतिले (खारा)मा आक्रमण गरेका थिए होला ।
पूर्वदृश्य :
सुरक्षाकर्मीले दिएको जानकारी अनुसार २ जनाआक्रमणकारीले सेनाको परिचयपत्रटाँगेर (मृत सेनाको हनु सक्छ) तारजाली काटेर क्याम्प भित्र प्रवेश गरे – बचाओ माओवादीले लखेट्दै ल्याएका छन् । आपतकालीन अवस्थाको स्वर सुन्दा एकजना आर्मीले परिचयपत्र चेक गर्दै गर्दा अर्को माओवादीले आर्मीलाई ड्याम्प ठोकेछ । त्यतिखेर चारैतिर एकैचोटी मसाल बलेछन् भने त्यही आवाजलाई उद्घोषन फायर ठानेर झलाक्चाबाट ८१ नामक बम बोहरा गाउँको क्याम्पमा फ्याक्दा केही फूसको छानावाला घर जलेछन् भने बोहरा गाउँबाट जवाफी बम पड्काउँदा भलाक्चामा पनि एउटा घर जलेछ ।
एकातिर खारा आक्रमण गरिरहेका र अर्कातिर बोहरा गाउँ लाई पनि जिस्क्याउँदै थिए रे । केही समय पश्चात् नाइट भिजन हेलिकप्टर आएपछि उनीहरु किनारा लागेका थिए रे । सपोटिङ फायर बोहरा गाउँका आर्मीबाट पनि भइरहेको थियो । त्यस रातलाग्थ्यो –आकाशमा गोलीका पर्राहरु बलिरहेको देख्दा) हामी नेपालमा होइन अपगानका मुलुकमा बारुदको धुँवाभित्र रुपल्लिरहेका छौं । उक्त घटना विहान ५ बजे सम्म लगातार रुपमा भइरहेको थियो ।
त्यस दिन विहान ७ बजेदेखि जाँच भइरहेको थियो । सम्पूर्ण सुरक्षाकर्मीको ध्यान खालाभलाक्चा तिर थियो । तर उक्त ठाउँतिर भने कुहिरोले डम्म ढाकेको थियो कतैपनि देखिदैन्थ्यो । त्यही नदेखिएर नै नाइटभिजन हेलिकप्टरले माओवादीहरुलाई पट्यादै गएको छोडेर आएको थियो । त्यतिखेर आकाशमा हेलिकप्टर भने जमीनमा स्वीपर टोलीपनि सर्चिङ गरिरहेको थियो । लाग्थ्यो, त्यतिबेला त्यो हुस्सु आकाशबाट खसेको हो वा दुबै थरी आक्रमणकारीबाट चलाइएको बारुदको धुँवा हो ।
परीक्षाहल भित्र चेकिङमा पसेका र बाहिर सेन्ट्रीमा बसेका दुवैथरीको (सुरक्षाकर्मी) उत्साह अधिक नै देखिन्थ्यो । उनीहरु प्रसङ मिलाएर भन्थे – अझ सबै सखाफ हुन्थे, मौसमको खराबीले मात्रै बाँच्न÷भाग्न सफल भए । बुद्धि नपुगेका स्वाठहरु ।
त्यसपछिका मार्ने र मर्नेका घटना विवरणहरु सायद तिमीले नै बढी मात्रामा र आधिकारिक रुपमा सुने हौला । हाम्रा कान पनि रेडियो बाहेक अन्य खवर सुन्न सत्तैनन् अर्थात रेडियो नै सूचनाको एकमात्र आधार भएको छ ।
घटनापछिका उहापोह :
खाराको घटनापश्चात् नेपाल आर्मीलाई एक किसिमको विशेष उर्जा प्राप्त भएको भाव पाइन्छ । तर पनि कतै कतै सुन्नमा आउँछ, अब उनीहरुले (माओवादी) एकचोटी नराम्रो सँग प्रहार गर्दैछन् अर्थात बदला लिँदैछन् । कहाँ लिने हुन् भन्न भने सकिँदैन् ।
सायद त्यसैले होला अहिले खलंगाको त्रि.ज.उ.मा.वि. (परीक्षा केन्द्र) का चारैतिर बङ्करहरु बनाइदै छन् । भवनको अगाडिको फिल्डमा ठूलो स्पेस पारेर खाडल खनिदैछ । माओवादीबाट धम्की आएको छ रे – अब एकचोटी खलंगामा आक्रमण गर्ने रे । सफल नभएपछि काठमाडौं टुडिखेलमा हतियार विसाउने रे ।
सुनिन्छ, प्रचण्ड रुकुममा आएर सैन्य भेलामा निर्देशन दिएर गइसके रे । अझ रामबादुर थापा (बादल) ले रुकुममा कमाण्डिङ गर्ने रे । अहिले चर्चामा आएको अनुसार खारा, बोहरा गाउँ र खलंगामा एकैचोटी आक्रमणको तयारी भइरहेको छ रे । हुन त सरकारी सुरक्षाकर्मीबाट पनि व्यापक तयारी भइरहेको छ । प्राप्त जानकारी अनुसार केन्द्रमा समेत यसको जानकारी दिइ सकिएको छ रे ।
प्यारो भाइ,
लेख्नुपर्ने कुराहरु थुप्रै थिए । जतिबेला यी शब्दहरु कोर्दैछु त्यतिबेला कानमा रकेट लन्चरको आवाज टड्कारो रुपमा घन्किएको सुनिन्छ । यतिखेरै बाहिरबाट बत्ती निभाउने वार्निङ आइरहेको छ । लाग्छ यति धेरै नेपालीका छोराछोरी (माओवादी या सरकारी सेना प्रहरी) ले ज्यान गुमाएको उपलब्धि के होला ? नयाँ नेपालको निर्माण वा नयाँ सम्राटको उदय ? जेहोस् घटना परिघटना जे जस्ता घटे पनि आम नेपाली र समग्र मानवजाति कै हितमा हुनु पर्दछ ।
लेख्नुपर्ने अनुभूतिहरुलाई यत्तिकैमा कैद गर्दै अर्को दिन समय मिलेमा प्रस्फूटन गर्ने बाचासहित गोलाबारुदको बङ्कर भित्र बाँचेको तिम्रो दाजु–पङ्कज ।
२०५९।०२।२५
मुसीकोट, खलङ्गा, रुकुम ।
ooo
ooo