- रोसिना अधिकारी
लैनचौर, ठमेल, सोह्रखुट्टे, बालाजु, बनस्थलि, खरिबोट !’ मेरो दैनिकि सङ्ग जोडिएको पट्ट्यारलाग्दो श्लोक फेरि भट्ट्याइन्छ।
“ओ दिदी अलि पर सर्नु न हौ !”
“ठाउँ नै छैन, अब मान्छेमाथी टेके मात्रै !” सधैंजसोको भनाभन ब्याकग्राउण्ड म्युजिक जसरी पृष्ठभुमिमा सलबलाइरहन्छ । जेठको गर्मीले रापिएको सडकमाथि तैरिएको तातो हावाले सुम्सुम्याइरहदा मेरो सानो माइक्रोको पछिल्लो सिटमा म आडेस लगाएर निदाउन खोज्दै छु।
“ए दाइ, कस्तो पेल्नुभाको !”
पृष्ठभुमिका आवाज अझै उस्तै । ढ्याप ढ्याप आवाजले झसङ्ग पार्छ, म टाउको उठाउछु। छेवैको अधबैंसे पुरुषको टाउकोसङ्ग ठोकिन्छ। “सरि !” फिस्स एउटा गह्र’गो मुस्कान छोड्दै म झ्यालतिर मोडिन्छु। गाडी चल्न थाल्छ। एक मुस्लो धुवाँ र धुलो अनुहारमा बिस्फोट हुन्छ, म हातले नाक मुख छोप्न खोज्छु ।
काठमाडौको पहिचान, धुवाधुलो अनि अनगिन्ती सपना। एक थान सपनाको हुलको यहि माइक्रोमा ठेलमठाल छ। चिटिक्क परेका मार्बल र सिसाका अग्ला भवनहरु अगाडि लम्पसार यो सडकमा सपनाहरूको दौडधुप दिनहुुँ यसरी नै चलिरहन्छ। सितल पहाडका चिसा झरनाहरुले बगाएर ल्याएका सपनाहरु, समथल तराईको तातो हावाले उडाएर ल्याएका सपनाहरु पाल्ने काठमाडौ बिचित्रकै छ। यिनै सपनाका चटारो र हतारो ले सधैं व्यस्त राख्ने सडक आज पनि उस्तै छ। केशर महल अगाडि आज पनि उत्तिकै जाम छ। पारी पेटिमा अध्यारोले लग्भग निलेको एउटा छाया चुरोटको धुवाँ उडाउदै छ। अगाडिको गाडिले त्यहिबेला एक मुस्लो कालो धुवाँ थपिदिन्छ। म निसासिएजस्तो हुन्छु र भित्र फर्किन्छु। भिडको बिचबाट खलासी फुच्चे देखिन्छ। उ मोबाइलमा ब्यस्त छ।
“कत्रो जाम परेको ! उफ्फ !”
छेउको अधबैंसे पुरुषले सुस्केरा हाल्दै भन्छ। म बेवास्ता गरिदिन्छु, मलाई संवाद बडाउनु छैन।
“बैनी कलेज गएर आउनुभाको?”
म उत्तर दिन बाध्य हुन्छु। ” हजुर हो ।”
“कति गाह्रो छ है! दिनहुुँ यसरि जाममा बस्नु पर्छ। यसरी भिडमा आउनजान पर्छ। कोठामा पुग्दै थकाइ लाग्ला। कैले पो पढ्नु !”
सहमती जनाएको प्रतिक्रियामा टाउको हल्लाइदिन्छु। साच्चै गाह्रो छ त, दिनहुँ यो भिड छिचोल्दै आफ्नो भविस्य कोर्ने अक्षर पढ्न जान। काठमाडौको पहिचान संघर्ष पनि हो।
“बैनी के पढ्नुहुन्छ?”
“इन्जिनियरिङ्ग”
“ओहो! उसो भए त अब पास गरेपछी बिदेश नजानु है। यो बाटो चै यसरी जाम नहुने पार्नुहोला है! अनि यो धुलोधुवा हटाउन पनि केही गर्नुपर्छ।”
म फेरि हासिदिन्छु मात्रै। संवादमा मेरो रुचि नदेखेर होला, उ चुप लाग्छ। तर साच्चै प्रश्नले मगजमा घचेट्छ। यति धेरै सपना पाल्ने यो शहरलाई सुन्दर पार्ने सपना कहाँ होलान्? यहि शहरले देखाइदिएको हवाइजहाज चडेर बादलपारिको देश पुगेका अनगिन्ती सपनाहरु यसरी नै कुनै दिन यो भिडको चपेटामा यो शहरको अस्तव्यस्तता केलाउदै थिए होलान्। कोहि भिड छोडेर उडे कोहि अझै मसङ्गै भिडमै छन्। भिडका अनुहारहरु दिनहुुँ फेरिन्छन, तर भिड जस्ताको तस्तै। मलाई अनायास यो शहरको माया लागेर आउँछ। सपना पाल्ने शहरका पनि सपना होलान्। मान्छेका पैतालामुनी पुरिएको, कन्कृटको जङ्गलमुनी भासिएको यो शहरको जमिनले पनि सास माग्दो हो।
अभावमा बाचेको शहर हो काठमाडौ। तिर्खाएर स्वच्छ पानी माग्दो हो। यो जमिनले टेक्न सिकायो। के यसलाई बाक्लो धुवाँमै निसासिन छोडेर बादलका वायुपंख समाती बेतोडले भाग्नु उचित छ? या त यो भिडका हरेक अन्यौलता, हरेक अशान्ति ब्याक्ग्राउण्ड म्युजिक बनाइ बेवास्ता गर्दै हरेक दिन खुला आँखा खुला कान सहित अचेत बन्दै भिडलाइ नै जीवन बनाउनु उचित छ? पक्कै पनि केही जिम्मेवारी मेरो पनि छ। आज यो सपनाको भिडमा मैले नयाँ सपना कमाए जस्तो लाग्दै छ।
मलाई अघि हासेर टारिदिएको प्रश्नको जवाफमा भित्रैबाट हवस् भन्न मन लाग्छ। छेउतिर फर्किन्छु। उ अगाडिको सिटमा टाउको अड्याइ निदाइसकेको हुन्छ। ट्राफिकको सिट्ठिले मेरो एकोहोरो सोचको तरङ्गलाइ बिथोलोदिन्छ।
“मोबाइलमा भुलेर बस्छस् ! भाडा उठा ए !”
ड्राइभरको कर्कश आवाज र गाडिको गतिले निदाएका यात्री सबै बिउझिन्छन। फुच्चे सजग हुँदै मोबाईल खल्तिमा राख्छ।
“ल सबैले भाडा मिलाउदै गरम है।”
“छुट्टा छैन ?”
फेरि ढ्याप ढ्याप।
“ठमेल, सोह्रखुट्टे, बालाजु, बनस्थली, खरिबोट !”
“जाने हो दाइ ? ठमेलमा खाली हुन्छ।”
ooo
ooo