- प्रसन्न कोइराला
मसँग भावनाका कुरा न गर,
म आँधो, जब्बरे, जङ्गेले बुझ्नेवाला छुइन ।
मसँग मायाका कुरा पनि न गर,
मायामा गवार, गाउँले, पाखेले त्यो पनि बुझ्नेवाला छुइन ।
बरु,
मैले बुझ्ने भाषाहरू, तिम्रो मुस्कानमा छ, तिम्रा आँखाहरूमा छन् ।
मलाई लठ्ठ्याउनै मन भए, तिमी आँखाले हासिदेउ ।
मेरो जिब्रोले मन-भाषा कहिल्यै बोल्न जानेन
तिम्रो मनको पनि जानेन, अाफ्नो मनको पनि जानेन
हो, बरु कथम
गालाका छालाहरू खुम्चिएर मन उकेल्थे,
निधारको मासु तन्किएर मन उकेल्थ्यो
तर बोली फुटाउन भने,
हाडे ओख्खर दाँतले टोकेर फुटाउन भन्दा गाह्रो लाग्थ्यो ।
कहिले काहि त मुखै फोरेर सोधे पनि
म जस्तासँग कसरी बसेकी छौ ?
म मायाको भाषा पनि जान्दिन
भावनाका कुरा पनि जान्दिन
कविता जान्दिन, गीत जान्दिन,
तर फेरी तिम्रो उत्तर उस्तै मीठो आउथ्यो,
“न जाने के भयो त ? मैले सिकाइ दिउँला नि”
धेरै सोधेर होला,
आजकाल त लाजै लाग्छ सोध्न पनि ।
सोच्छु सधै जसो,
खै के देख्यौ र लठ्ठियौ ?
सोची सक्छु र पुन: सोच्छु
धन्न, क्यै देख्यौ र लठ्ठियौ ।
ooo
ooo