- प्रकाश भण्डारी
नमस्ते कमरेड !
रिसानी माफ होस,
म सँग रातो केही नभएर
तपाईँलाई रातो सलाम टक्राउन सकिन ।
मलाई चिन्नु भो ?
म तपाईँको रक्तिम क्रान्तिको एक अयोग्य योद्धा ।
तपाईँले खडा गर्नु भएका
हरेक किल्लाहरूमा
आफ्नै दाजुभाइहरूको
रगत पोतेर लाल किल्ला बनाउने
एक पेन्टर !!
उही कथित क्रान्तिको संवाहक
र,
वर्तमानमा तपाईँको फगत एक भोट ।
तपाईँले उहिल्यै थमाई दिनुभएको
किताबको मध्य-भागबाट
खै ?
कता हराउनुभयो कमरेड ?
तपाईँले कहिल्यै नछुनु भनेको
सामन्तवादको किताबको
हरेक पृष्ठमा रहेको सुकिलो आकृति
आखिर कसको हो ?
यदि मैले अब तपाईँले दिनुभएको
किताबको हरेक पृष्ठ पछ्याए भने ?
खैर !
छोड्नुस् यी झिना मसिना कुरा,
बरु भन्नुस् न –
यी गुरॉसहरूको रङ्ग फिक्का हुनु
र,
खुईलिएका लाल किल्लाहरू
अलिक बढी रातो हुनुको रहस्य ?
सीमा अस्थिरिकरणका आयामहरू ?
बताईदिनुस न कमरेड !
यी आन्तरिक सिमानाहरुको महत्त्व ?
पसिनाको मूल्य ?
तपाईँको महानता ?
उसैगरी
जसरी कुनैबेला बयान गर्नुहुन्थ्यो
रगतको मूल्य,
क्रान्तिको अपरिहार्यता,
र,
तपाईका महान गुरुहरूको महानता ।
यी तमाम प्रश्नहरूको
कुटिल जवाफ खोज्दै गर्नु,
तर त्यो भन्दा पहिले –
मैले रंगाएका हरेक लालकिल्लाहरूलाई
उभ्याईदिनु मेरो देशको सिमानाभरी
बरु अझै रंगाउनु परे
मेरै रगत पोतुँला ।
तर बिन्ती !
कसैगरी पनि नराखिदिनु तिनलाई
मन्दिर र गुम्बाको बिचमा
मस्जिद र चर्चको बिचमा
हिमाल, पहाड र तराईको बिचमा
मेरो र उसको बिचमा ।
र,
अन्तमा
हरेक चोटि तपाईँले
लाल सलाम गरिरहँदा,
यति कुरा चैँ याद गरिदिनु कि
तपाईँको सलामीलाई
लाल बनाउने रङ्गमा,
कस कसको रगत मिसिएको छ !
कस कसको सिन्दूर मिसिएको छ !!
यति भन्दा-भन्दै
लाल भएका मेरा आँखाहरूले नै
लालसलाम कमरेड !!!