१३ जेठ, झापा । स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्रतर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र पाएका छन् ।
त्यस्तै शिवसताक्षी योगमणि अधिकारी (स्वतन्त्र)ले चार मत, गौरादह राधिका धमला (स्वतन्त्र)ले सात मत, बिर्तामोड अञ्चल धिमाल (नेपाल लोकतान्त्रिक पार्टी)ले छ मत, कमलका नारायणप्रसाद रिजाल (मौलिक जरोकिलो पार्टी)ले आठ मत, दमकका देउकुमार राई (किराँत खम्बूवान साझा पार्टी)ले नौ मत, दमकका कृष्ण राया (लोकतान्त्रिक समाजवादी पार्टी नेपाल)ले छ मत, दमकका नेत्रजङ्ग थापा (स्वतन्त्र)ले छ मत, दमकका नीलकण्ठ सापकोटा (स्वतन्त्र) पाँच मत र दमककै कृष्ण खनाल (स्वतन्त्र)ले तीन मत पाएका छन् ।
त्यस्तै गौरीगञ्ज–२ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गणेशबहादुर कार्की र शिवसताक्षी–७ बाट राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर लिम्बूले एक–एक मत पाएका छन् ।
जिल्लामा ९६१उम्मेदवारको जमानत जफत भएको छ । जिल्लामा विभिन्न पदमा गरी दुई हजार ७८६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये प्रमुख–अध्यक्षमा ८३, उपप्रमुख–उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ र महिला, दलित, खुला सदस्य गरी ५३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए ।