Logo

ताजमहलको बाहिरी आवरण सेतो बाट पँहेलो हुँदै, आखिर किन ?



Spread the love

नयाँ दिल्ली।  ऐतिहासिक ताजमहलको बाहिरी आवरणको रंगमा आएको परिवर्तनको सम्बन्धमा विदेशी विज्ञहरुलाई बोलाएर विस्तृत अध्ययन तथा जाँच गराउन भारतीय सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।

अदालतको फैसलामा सत्रौं शताब्दीमा निर्माण भएको विश्वचर्चित ताजमहल सेतो सिंगमरमरले बनाइएकोमा हाल पँहेलो हुँदै खैरो र हरियो रङमा परिवर्तन भएको छ।फैसला सुनाउँदै अदालतका न्यायाधीशले भने,‘यदि सरकारसँग विशेषज्ञ छन् भने कि त यसको उपयोग भएको छैन यात यो सम्बन्धमा सरकारले चासो दिएको छैन।’

वातावरणविद्हरुले अदालतमा प्रस्तुत गरेका ताजमहलका पछिल्ला तस्बिरहरुको अवलोकनपछि न्यायाधीशद्वय मदन लोकर र दिपक गुप्ताको संयुक्त इजलाशले भारत वा विदेशबाटसमेत विज्ञको सहायता लिँदै समस्या पत्ता लगाउन निर्देशन दिएका हुन्।भारत सरकारले भने ताजमहल नजिक रहेका करिब १ हजारभन्दा बढी उद्योगहरुलाई बन्द गराइसकेको भएपनि सिंगमरमरको चमकतामा भने ह्रास आउँदै गएको ताजमहल संरक्षणमा लागेका अभियन्ताहरुले बताएका छन्।

रङ परिवर्तनको कारण र समाधानका प्रयास

प्रदुषण, ताजमहल वरपर हुने निर्माण कार्य तथा किटाणुहरुको कारण मार्वलको रङमा परिवर्तन आएको बताइएको छ।ताजमहलको नजिकै रहेको यमुना नदीमा हुने फोहर तथा मलले किटपतंगहरुलाई आकर्षित गर्ने र तिनै किटाणुले महलको भित्तामा फोहर गर्ने गरेको पाइएको छ। जसले गर्दा ताजमहलको भित्ताको रङ फिक्का बन्दै गएको बताइन्छ।

ताजमहलमा दुर्गन्धको समस्या नयाँ भने होइन। यसको समाधानका लागि पछिल्लो २ दशकमा धेरै प्रयासहरु पनि भएको तर त्यसको प्रभावकारिता कम देखिएको अभियन्ताहरु बताउँछन्।हलको चमकतालाई कायम राख्न भन्दै सिंगमरमरमा माटो लेपन गरी सफाइ गर्ने कार्य धेरै पटक भएको छ। तर त्यसले समस्या झन बढाउनेतर्फ डर पैदा भएको बताइएको छ।

पछिल्लोपटक गत जनवरीमा पनि सफाइको लागि भन्दै ताजमहलमा माटो लेपनलगायतका कार्य गरिएको थियो। माटो लेपन गर्दा गन्ध, तेल तथा किटपतंगले गरेको फोहर सफा हुने गर्दछ।भित्तामा लेपन गरिएको माटो फोहर हुँदै गएपछि यसलाई पखालिने गरिन्छ। हाल चलिरहेको सरसफाइ कार्यक्रम यो वर्षको अन्तिमसम्म रहनसक्ने बताइएको छ।

मुगल शाषक शाहजाँहले भारतको आग्रामा निर्माण गरेको ताजमहललाई विश्वका सात आश्चर्यमध्येको एक मानिन्छ। विश्वमै पर्यटकहरुको आकर्षणको रुपमा रहेको ताजमहलमा दैनिक ७० हजारभन्दा बढी मानिस अवलोकनका लागि आउने गरेका छन्।यससम्बन्धी अर्को सुनुवाइ आगामी मे ९ का लागि तय भएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्