Logo

भाले चितुवा मृत फेला



Spread the love

६ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित कालिका सामुदायिक वनमा सोमबार वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ । सामुदायिक वनको झाडीमा अन्दाजी १२ वर्ष उमेरका चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सम्भुप्रसाद तिवारीले बताए । सामुदायिक वनका उपभोक्ताले चितुवा मृत अवस्थामा रहेको जानकारी दिएको उनले बताए ।

“मृत अवस्थामा फेला परेको चितुवाको शरीरमा घाउ भई सङ्क्रमण हुँदा कीरा परेको अवस्थामा भेटाएका छौँ”, उनले भने, “घाउ भएको ठाउँमा कीरा परेको र धेरै दिनदेखि खान नपाई भोकका कारण मरेको अनुमान गरेका छौँ ।”

पशु चिकित्सकले पेटभित्र हेर्दा सङ्क्रमण भएर पित्तथैली लगायत सुन्निभएको छ भनेर जानकारी दिएको उनले बताए । “घाउ के भएर बनेको रहेछ, त्यसबारे पत्ता लाग्न सकेको छैन” उनले भने, “घाउ भएकै कारण पेटभित्र सङ्क्रमण भई चितुवा मरेको पशु चिकित्सकको भनाइ छ ।”

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र महेन्द्रनगरका चिकित्सकले मृत चितुवाको ‘पोष्टमार्टम’ गरेकाले विस्तृत रिर्पोट आएपछि मृत्युको कारण यकिनका साथ भन्न सकिने उनले बताए । गत वर्षसमेत सोही वन क्षेत्रका वयस्क चितुवा मृत अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्