Logo

मनाइयो हनुमान जन्मजयन्ती



Spread the love

४ वैशाख, काठमाडाैँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती शनिबार पूजा, आराधना एवं पाठ गरी देशभर मनाइएको छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, वुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ ।

यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिएको छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने परम्परा छ ।

हनुमान जयन्तीका अवसरमा गरिने शोभायात्रा पनि गरिएको छ । हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा पूजा आराधना गरेका छन् ।

हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शतरुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेको पौराणिक मान्यता छ । यसरी रामायणभन्दा पूर्वहनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ ।

रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिनुभएको वर्णन गरिएको छ ।

स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ । यस अवसमरमा शनिबार स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजा आराधना गर्दछन् । हनुमानलाई बजरङ्ग बली पनि भनिन्छ किनकी हनुमानको शरीर एक वज्रको समान थियो । हनुमान पवनपुत्रको रूपमा चिनिन्छन् । किन भने पवन देव (हावाको देवता) ले हनुमानको पालन पोषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ ।

हनुमानले भक्तियोग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गरेका थिए । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए । हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ ।

हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दुरले हड्डी एवं मांशलाई सुसङ्गठित शरीर निमार्णमा भूमिका खेल्दछ । यस अवसरमा शनिबार देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना गर्नुका साथै शोभायात्रा निकालिएको थियो । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकोमा यस वर्ष हनुमान जयन्ती शनिबार नै परेकाले पनि विशेष अवसर मानिएको छ । मङ्गलबारमै जन्मजयन्ती परेकाले आज हनुमानको आराधना गर्नु अझ राम्रो हुने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्