१ वैशाख, काठमाडाैँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १७ मोटरसाइकल र आठ स्कुटर फेला पारेर आज एक कार्यक्रमका बीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले एकान्त स्थानमा सवारी पार्किङ गर्दा बढी चोरी हुने तथा हराउने गरेको बताउँदै पार्किङ गर्दा विशेष ख्याल राख्न चालकलाई आग्रह गरे । “मोटरसाइकल चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी राखी सूचना सङ्कलन भइरहेको छ, मोटरसाइकल चोरीमा संलग्न त्यस्ता व्यक्तिमाथि महाशाखाले विशेष टोली खटाएको छ”, उनले भने ।
महाशाखा प्रमुख जोशीले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको बताउँदै पार्किङ गर्दा सवारी चालक विशेष चनाखो र सजग हुनुपर्ने बताए । उपत्यकाबाट हराएका मोटरसाइकलमध्ये सबैभन्दा धेरै पल्सर बाइक हराउने गरेको महाशाखाले जनाएको छ । महाशाखाले मोटरसाइकल हराउने वित्तिकै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गरेर टिपाउन वा ‘लस्ट भेहिकल एप्लिकेशन’मा अनलाइनमार्फत निवेदन दिनसमेत आग्रह गरेको छ ।