२८ चैत, रूकुम । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–२ मा भेटिएको सकेट बम निष्क्रिय पारिएको छ । वडा नम्बर २ को कोटघारीमा भेटिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।
आज त्यहाँका स्थानीय बासिन्दा जङ्गल गएको बेलामा घाँस काट्ने क्रममा बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला पारेका थिए । लगत्तै उनीहरुले इलाका प्रहरी कार्यालय प्वाङमा जानकारी गराएको र प्रहरी घटनास्थलमा पुगेर त्यस ठाउँलाई सुरक्षित राख्ने काम गरेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए ।
योसहित सिस्ने–२ मा दुई महिनाको अन्तरालमा तेस्रो पटक बम फेला पारी निष्क्रिय गरिएको हो । गएको फागुन २६ गते दर्जन बढी बम फेला पारी निष्क्रिय गरिएको थियो भने यही चैत ११ मा पनि दुई वटा सकेट बम फेला पारी निष्क्रिय गरिएको प्रहरी निरीक्षक बानियाँले बताए ।
अहिले पनि पहिले भेटिएको ठाउँको १० मिटरको आसपासमा बम फेला परेको उनले बताए । तीनै पटक भेटिएका बमहरु सशस्त्र द्वन्द्वकालमा राखिएको हुनसक्ने प्रहरीले बताएको छ । सबै बमहरु पुराना रहेको पाइएको र केही बम खुला त केही ड्रममा राखेको अवस्थामा भेटिएका थिए । सिस्ने–२ को जङ्गलमा घाँसदाउरा जाँदा बम भेटिन थालेपछि नागरिकहरु त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालयले बम हुनसक्ने सम्भावित ठाउँ हेरेर त्यस आसपास नजान र सावधानी अपनाउन नागरिकललाई आग्रह गरेको छ ।