२० चैत, धनुषा । ‘बल्ल पूरा भयो, नेपाली जनताको रेल चढ्ने सपना ।’ विगत तीन वर्षदेखि पटक पटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका यस क्षेत्रका नेपाली जनताको रेल चढेर भारतीय सीमावर्ती बजार जयनगरसम्म घुम्न जाने सपना बल्ल पुरा भएको हो ।
नेपाल–भारतबिच सन् २०१० मा भएको सम्झौता अनुसार जयनगर–जनकपुर–भङ्गहा–बर्दिबास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भएको थियो ।
आठ वर्ष २ महिनापछि विधिवत् रूपमा रेल सञ्चालन भएको आफ्नै आँखाले हेर्न शनिवार हजारौँ सर्वसाधारण बिहानैदेखि जनकपुर रेल्वे स्टेसनमा भेला भएका थिए । प्रचण्ड गर्मीका बाबजुद स्कुले छात्र–छात्रा घण्टौँ लाइनमा उभिएर पाहुनाको स्वागत गर्न रेल्वे स्टेसनमा आएका थिए । सर्वसाधारणको भीड व्यवस्थापन गर्न जनपद र सशस्त्र प्रहरीलाई हम्मे हम्मे परेको थियो ।
अपराह्न पौने तीन बजे पाहुनासहितको रेल जनकपुर रेल्वे स्टेसन पुग्दा सर्वसाधारणले जय घोष गरेर पाहुनालाई स्वागत गरेका थिए । नियमित रूपमा रेल सञ्चालनमा आएपछि महोत्तरी विजल पुराका रामपुजन महराले रेल चढी जयनगरसम्म घुमेर आउने योजना आफूले बनाएको बताए । उनले भने, ‘‘मैले सुनेको यो रेल जनकपुर–कुर्थाबाट एक पटक बिहान जयनगर जान्छ रे । साँझ फेरि फर्किन्छ । त्यसैले म बिहानै रेल चढेर जयनगर जान्छु, साँझ फर्किन्छु भन्ने योजनाका साथ जनकपुर रेल्वे स्टेसनमा आइपुगेको छु ।’ उनले आफू यसअघि कहिल्यै रेल नचढेको पनि बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा शनिवार भर्चुअल माध्यमबाट रेल्वे सेवाको उद्घाटन गरेसँगै आजदेखि नियमित रेल सेवा सञ्चालन भएको छ ।
दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । आजदेखि नै तालिका अनुसार नियमित रेल सञ्चालन भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । झाका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने उनले जानकारी दिए ।
यसरी दैनिक बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि छुट्ने रेल बिहान १० बजे कुर्था स्टेसन पुग्नेछ भने पौने ११ बजे जनकपुरधामको कुर्थाबाट जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने महाप्रबन्धक झाले बताए ।
जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाको भनाइ छ ।
रेल चढ्न पहिचान खुल्ने कागजात अनिवार्य
जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुलाई आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने भएको छ । खुल्ला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले बताए ।
सुरक्षा र खुल्ला सिमानाकालाई दृष्टिगत गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ ।
यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उनले बताए । दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा विद्यालयको फोटोसहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नुपर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले पनि भारत सरकारद्वारा जारी वैध राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचान–पत्र वा कुनै आइडी कार्ड अनिवार्य बोक्नु पर्ने छ ।
कति छ रेल सेवाको भाडा दर ?
जयनगरदेखि कुर्थासम्म चल्ने रेल सेवाको भाडा दर कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ९० र एसी सिटमा ४५० भाडा निर्धारण गरिएको छ । जयनगर–कुर्थासम्मको दूरी करिब ३५ किलोमिटर छ ।
यस्तो छ रेलको यात्रु बोक्ने क्षमता
गत ०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाखमा खरिद गरेको रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको छ । दुवै बोगीले करिब एक हजार ५०० यात्रु बोक्ने क्षमता छ । यसको गति रेलको लिक डिजाइनअनुसार १०० किलोमिटर प्रतिघण्टा रहे पनि जयनगर–कुर्था रेल स्टेसनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टासम्मको गतिमा मात्रै चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
यो डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेल हो । डेमु रेल दुवैतर्फबाट अर्थात् अगाडि–पछाडि दुवै दिशातर्फ गुड्छ । अन्तिम गन्तव्यमा पुगेपछि टर्निङ नगरी पछाडिको भागबाट अघि बढ्छ । यसको इन्जिन डिजेल र विद्युत् दुवैमार्फत सञ्चालन गर्न सकिन्छ । डिजेलले सञ्चालन हुने मेशिनले उत्पादन गरेको विद्युतमार्फत चल्ने रेललाई डेमु रेल भनेर चिनिन्छ । हाल ३५ किमी दुरीमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ । कुर्थाबाट बिजुलपुरासम्मको निर्माण झन्डै सकिएको र अबको दुईचार महिनामा रेल सञ्चालन गर्न सकिने महाप्रबन्धक झाले जानकारी दिए । ३५ किमीमा आठ ठाउँमा रेल रोक्न सकिने छ ।
एउटा स्टेसनबाट चार पाँच किलोमिटरमा अर्को स्टेसन आउँछ । यसको डिजाइन स्पिड यात्रुवाहक गाडीमा १०० किमी प्रतिघण्टा रहेको छ । मालवाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए । महाप्रबन्धक झाले भने, ‘त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्दछ ।’ डेढ वर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुन सकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको हो ।
यता रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ समेत जारी गरिसकेकी छन् ।
आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा
जयनगर–कुर्था रेल सेवा सञ्चालन भएसँगै मधेस प्रदेशमा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । भारतीय रेल सञ्जालसँग जोडिएकाले भारतका विभिन्न सहरमा नेपालीको सहज पहुँच हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बताए ।
रेल सेवा सञ्चालनसँगै नेपाली भारतको राजधानी नयाँ दिल्ली, पटना, बनारस, कलकत्तालगायतका सहरसम्म सहज यात्रा गर्न सकिने छन् भने दैनिक भारतीय नागरिक पर्यटकको रूपमा नेपाल आउन सक्ने उनको भनाइ छ । रेल्वे सञ्चालनसँगै भारतीय खाद्यान्न र सर समानको आयात सहज हुने र प्रतिकिलो खाद्यान्नको भाउमा करिब १० ले सस्तो हुने विश्वास सङ्घका अध्यक्ष जितेन्द्र महासेठको छ ।
यात्रुसँगै सामान पनि ढुवानी गर्नुपर्ने उनको माग छ । अध्यक्ष महासेठ भने, ‘दक्षिण भारतबाट ट्रकमा चामल आयात गर्दा प्रतिकिलो १६ ढुवानी खर्च लाग्छ तर रेल मार्गबाट ल्याउँदा प्रतिकिलो पाँच वा छ मात्र पर्छ ।’
यस्तो छ नेपालमा रेल्वेको इतिहास
विसं १९८४ (ई।१९२७) मा चन्द्र शमशेरको शासनकालमा स्थापित नेपाल गभर्मेन्ट रेलवे नेपालको पहिलो रेल्वे सेवा हो । तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेल्वे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो । उक्त समयमा तराईका यस भेकका मानिसले अमलेखगन्जबाट भीम फेदी हुँदै काठमाडौँसम्म पुग्न पैदल यात्रा गर्थे । उक्त रेल सेवा विसं २०२२ मा बन्द भयो ।
नेपालमा पहिलो रेल सञ्चालन भएको ठिक १० वर्षपछि अर्थात् विसं १९९४ सालमा दोस्रो रेलका रूपमा विहारको जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर सञ्चालन भयो । दुवै रेल स्टिम ९कोइलाबाट चल्ने० इन्जिनले सञ्चालन भइरहेको थियो । जयनगर–जनकपुर–बिजलपुरा रेल्वे तत्कालीन बेलायती सरकारले नेपाली भूमिबाट जडीबुटी र काठ ओसार्न निर्माण गरेको थियो । उक्त मालवाहक रेलमै कामदार चढ्न डब्बा (बोगी) पनि बनाइएको थियो । यस क्षेत्रका जङ्गल मासिएपछि सोही रेल यात्रुवाहकरुपमा सञ्चालन हुन थाल्यो । सुरुमा कोइलाबाट चल्ने उक्त रेलको इन्जिन फेरेर डिजलबाट चल्ने बनाइयो ।
आठ वर्ष अघिसम्म धनुषाको पूर्वी दक्षिणी भेगलाई भारतीय बजार जयनगरसँग जोड्न र जिल्लाको पूर्वी क्षेत्रलाई धनुषाको सदरमुकाम जनकपुरसँग जोड्न एक मात्र भरपर्दो साधनका रूपमा उक्त रेल सेवा सञ्चालन भइरहेको थियो । तर २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि जयनगर (२९ किलोमिटर)मा सीमित हुन पुग्यो ।
नेपाल–भारतबिच सन् २०१० मा भएको सम्झौताअनुसार जयनगर–जनकपुर–भङ्गहा–बर्दिबास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भयो ।
अहिले रेलमार्ग सुधार गरी जाने नेपाल र भारतबिचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो ।