Logo

असारसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती ढलमुक्त गरिने



Spread the love

१९ चैत, काठमाडाैँ । आगामी असार मसान्तसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती नदीलाई ढलमुक्त गर्ने प्रतिबद्धता जनाइएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले शुक्रबार भक्तपुरको नगरकोटमा आयोजना गरेको ‘वाग्मती नदी सरसफाइ, सभ्यता संरक्षण तथा प्रवद्र्धनात्मक कार्यक्रमको महत्व र सान्दर्भिकता’ विषयक छलफल कार्यक्रममा वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट पशुपतिसम्मको नदीलाई ढलमुक्त गर्ने सम्बन्धमा सुझाव दिन सरोकार भएका निकायको प्रतिनिधि सदस्य रहेको पाँच सदस्यीय समिति गठन गरिएको जानकारी गराइएको छ ।

कार्यक्रममा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले पाँच जनाले नभ्याए जनशक्ति थप्न सकिने उल्लेख गर्नुहुँदै पशुपति क्षेत्रसम्मको नदीलाई ढलमुक्त गर्न आवश्यक बजेटकोसमेत व्यवस्था हुने बताए । वाग्मतीसँग सरोकार भएका सबै निकायसँग छलफल गरेर वाग्मती कार्ययोजना तयार पार्न गृहकार्य सुरु भएको जानकारी पनि उनले दिए ।

शिरदेखि वाग्मती सफाइ गर्ने अभियानमा सफाइ महाअभियानको ठूलो योगदान हुनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले सबैको सहयोग जुटाएर यो काम सफल गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा समितिका कार्यकारी सदस्य एवं सफाइ अभियानकर्मी डा माला खरेल, आयोजना प्रमुख नवराज प्याकुरेल, कार्ययोजना निर्माण कार्यदलका समूह संयोजक डा सुधा श्रेष्ठ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन एकाइका परामर्शदाता भरत महर्जनले नदी सफाइका लागि गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्