मैले प्राय हिँड्ने गरेका हरेक एकलास बाटाहरुमा उ हुन्छे ।
मैले डुल्ने गरेका शहर देखि, म भुल्ने गाउँसम्म । मैले देख्ने सपना देखि, म जिउने विपनासम्म । मैले पढ्ने पाना देखि, मैले लेख्ने हरेक अक्षरसम्म । मेरा जबर्जस्ती निस्कने हाँसोका फोहोरा देखि, मनमनै गुम्सेका पिडासम्म । केहि निमेष साथमा अनि बाँकी यादमा, उ मसङ्गै हुन्छे ।
उ आकाश हो । त्यो आकाश जो सँधै मसङ्गै हुन्छ । मेरो हरेक हाँसोका साक्षी बनिदिने आकाश । सपना साँचेका बिहानीमा कतै आशाका किरण पर्खेका एक जोडी आशातित नजर तेर्साइने आकाश । चिसा रातमा अनायासै एकोहोरो हेरिने आकाश । हरेक ॠतु, हरेक याम, हरेक दिन, हरपल मसङ्गै रहने आकाश । त्यो आकाश, जो मसङ्गै छ, तर कहिँ दुर । टाढा । मभन्दा कोशौँ टाढा । उ साँच्चै आकाश हो ।
उ मिठो सपनी हो । मलाई सुत्न नदिने सपनी । दिनका अँध्यारा किरण भुलाएर रातका रङ्गिन यादमा लट्ट्याउने सपनी । यादका रापिला भुङ्ग्रामा मनका धातु गलाईदिने सपनी । प्राय होसमा अनि छिटपुट मदहोसमा देखिने सपनी, जसका खातिर कोही कतै धड्किरहेछ । उ हसिन सपनी हो ।
उ बिश्वास हो । हजारौँ धोका विचकी एक बेप्रवाह बिश्वास । बन्जिका डोरिले हूकलाई गर्ने बिश्वास, सायद बाँधले छाल लाई गर्ने बिश्वास, अनि एउटा माझिले जल लाई गर्ने बिश्वास । उ आभाष हो । कहिँ दुरका धड्कनका आभाष, एक्लो यात्रामा मिसिएका पाइलाका आभाष ।
सारंशमा, ‘उ’ अचेल ‘म’ हो, जसरि ‘म’ ‘उ’ बनेकोछु । त्यसैले होला सायद, दुवैका पिडा बराबर छन् । दुवै बराबर रुन्छौँ, अनि सायद बराबर लुकाउछौँ । उ असाध्यै याद आउँछे । जब म बसेको सिटको बगलवाला सिट रित्तो हुन्छ, पिडा भरिँदै आउँछन् । जब म हिँडेको बाटोमा कोही अन्जान जोडी देख्छु, आफ्नो एक्लोपनको आभाष हुन्छ । जब उसलाई सुनाउन भनि केहि साँच्नु पर्छ, अनि आफ्नो निहत्थापन याद आउँछ । उसका गालामा झारेका कपाल जब हेर्न मात्र सक्छु अनि कानमा सिउरिदिन सक्दिनँ, तब दुरिको अन्दाजा हुन्छ । जब सङ्गै रुन, सङ्गै हाँस्न, अनि केहि पल सङ्गै जिउन निक्कै बन्दोबस्तो मिलाउनु पर्छ, अनि याद आउँछ आफ्नो धरातल ।
‘आल इज वेल’ । पास छैनौँ, सायद त्यसैले खास छौँ । चित्त बुझाउनु न छ । घरि जबर्जस्ती, घरि रहरले, अनि कहिलेकाहिँ टारेर चित्त बुझाउँछौँ । यि सबका बावजुद अनेक रहर पलाईदिन्छन् । केहि मुश्किल, अनि प्राय असम्भव।
***
एक टकले हेरिSSSSरहन मन छ । उसलाई कोर्न मन छ आज । उसका केहि पाटा उतार्न मन छ । मेरो आफ्नै क्यान्भासमा । केहि जोर आँखा क्यान्भासमा बिछ्याउँदै बाँकी नजर उतै टोलाउन मन छ । अहँ, कान पछाडिबाट गालासम्म बेखवर झरिदिने उसका कपाल, फेरि कानमा सिउरिदिन कत्ति मन छैन । उसका गालामाथिका कपाल कोर्न मन छ आज । उसका ति पातला ओठ बेस्सरि नियाल्न मन छ । अनि कतै नयनका अल्लारे गल्लिहरुमा सुटुक्क छोडिदिन मन छ । जहाँ ति चित्र सँधै जसो दौडिरहोस् । उसलाई सताउन मन छ । परैबाट । अनि सताउँदाका उसका मासुम हैरानी समेट्न मन छ । केहि कुरा लाज पचाएरै जोड्न मन छ एकान्तमा । अनि लाजले निहुरेका उसका ती ठुला नसालु आँखा कैद गर्न मन छ । मलाई जिस्काउँदा खुम्चिने नाक, देखाइने दाँत, अनि टोकिने ओठ, सबका सब छाप्न मन छ आज । भित्र कतै सँधै लुकाइएकी उसलाई आज मनोभाषदेखी क्यान्भाससम्म को यात्रा तय गराइदिनुछ । उसका खुबसुरतिका पानाहरु पल्टाइदिनु छ । उसको निसासिएको फोक्सोमा केहि मुठी बाहिरी सास भरिदिनुछ । बस्, उसलाई उतार्नु छ ।
उसँग एक रात गुजार्न मन छ । ब्याकग्राउन्डमा नुस्रात अनि नरायण गोपाल । सुरमा केहि बेसुरका धुन मिसाउँदै रातका मातमा लट्टिनु छ । रातभर टोलाउनु छ । घरी आँफै क्यान्भास बन्नु छ, घरी उसलाई बनाउनु छ । त्यो स्वपनिल रात बस उसका नाम गर्नु छ ।
उसका प्रत्यक रहर पुरा गर्न मन छ । अनि पुरा भएका रहरमा फैलिएका उसका मुस्कान टपक्क टिपेर कतै सुरक्षित राख्नु छ । उसको त्यो डायरिलाई अन्तिम पटक पल्टाउन मन छ, जससँग उ मभन्दा नजिक थिई कुनै समय । उ बाहेक ति गुमसुम पानाहरु सुम्सुम्याउने पहिलो कोही बन्नु छ । अनि अन्तिम पनि । पहिलो पानामा लेखिएको उसको नामको पछाडी सुटुक्क आफ्नो थर राखिदिन मन छ । उसको त्यो एक्लो डायरिलाई कतै सुरक्षित थन्काउनु अघि केहि हरफ लेख्न मन छ ती अन्तिम पानाहरुमा । अनि चिच्याउँदै भन्न मन छ त्यो डायरिलाई कि उ अब एक्ली छैन ।
***
केहि हसिन सपनी च्यापेर बाँचेको छु अचेल । उ? उ उसैगरी मुस्कुराउँछे, दिलका तार गितारसरि बजाउँछे !!!
***