२९ फागुन, झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले नागरिकको स्वतन्त्रता, सुरक्षा र वैयक्तिक विकासको सुनिश्चिता कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरेका छन् ।
आजदेखि कांग्रेसले सुरु गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ घरदैलो राष्ट्रिय अभियानअन्तर्गत दमकमा आयोजना गरिएको क्षेत्रीयस्तरको अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै उनले मुलुकको हरेक विषम परिस्थितिमा नेतृत्व गरेर समस्या समाधान गर्न सक्ने क्षमता कांग्रेससँग मात्रै भएको दाबी गरे । कांग्रेस हार्दा मुलुक नै हार्ने रहेछ भन्ने कुरा जनतालाई सत्यतथ्य बुझाउन नसकिएको भन्दै उनले भने, “यस अभियानले पार्टीका कार्यकर्तामार्फत अब जनताले सुसूचित हुने पाउनेछन् ।”
कांग्रेस झापा जिल्ला सभापति देउकुमार थेवेले यो अभिमुखीकरण कार्यक्रमले नेतृत्वलाई जवाफदेहीता र जिम्मेवारीवोध गराउने बताए । निकट भविष्यमा हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउने गरी अभियान सञ्चालन गर्न उनले आग्रह गरे । कांग्रेस दमक नगरसमितिको कार्यालयमा आयोजना गरिएको उक्त अभिमुखीकरणमा अधिवक्ता अमृत बुढाथोकी, रमेश दाहाललगायत सहजीकरण गरेको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बताए । अभिमुखीकरणमा कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई, पूर्वआमन्त्रित केन्द्रीय सदस्य दिलीप राईलगायत नेता तथा कार्यकर्ताको उल्लेखीय उपस्थिति रहेको थियो ।